
काठमाडौं । पार्क भन्ने बित्तिकै हरियाली, अनेकन फुल र बालबच्चाका लागि बिभिन्न खेल भन्ने लाग्छ । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एउटा यस्तो पार्क निर्माण गरिएको छ जुन नयाँ पुस्ताको लागि सांस्कृतिक पाठशाला बनेको छ । विबाह होस् या अन्य शुभकार्य बाजा बजाउने चलन रहि आएको छ । तर यो ब्यवस्थित रुपमा सञ्चालन हुन भने सकेको छैन ।
विबाह अथवा अन्य शुभकार्यमा बजाईने प्रमुख बाजा हो पञ्चे बाजा । तर पछिल्लो समय पञ्चेबाजा बजाउने जनशक्तिको अभाव र बिदेशी बाजाको प्रयोग बढ्दै जाँदा पन्चे बाजा विस्तारै लोप हुँदै गएको छ ।
शहरहरुमा त यो बाजा देख्नै मुस्किल छ । तर कास्कीको माछापुच्छ्रे गाँउपालिकाको धितालमा भने पन्चेबाजाको संरक्षणमा जुटेका छन् स्थानियहरु । माछापुच्छ्रे गाँउपालिकाको धिताल र अस्तामको बाजा अहिले पनि निक्कै चर्चित छ । त्यसैको सन्देश दिन र पन्चेबाजा बारे भावी पुस्तालाई जानकारी गराउन गाँउमा पन्चेबाजा पार्क नै निर्माण गरिएको छ ।
पार्कमा पन्चेबाजामा बजाईने सनई, दमाह, ट्याम्को, ढोलक, झ्याली,नरसिङ्गाको ठुला ठुला आकृति बनाएर राखिएको छ । स्वर्गिय रविन्द्र अधिकारीको पहलमा निर्माण गरिएको यो पन्चेबाजा अर्थात नौमती बाजा पार्क अहिले पर्यटकीय केन्द्र त बनेको छ नै ।
संगसंगै स्कुले बालबालीकाको लागि बाजा संस्कृतिको अध्ययन केन्द्र पनि बनेको छ । तर यो पार्कबारे धेरैलाई जानकारी नहुँदा र गाँउपालीकाले वास्ता नगर्दा एउटा सांस्कृतिक पार्क ओझेलमा परेको स्थानीयको भनाइ छ ।
धिताल र अस्ताम आफैमा पर्यावरणिय पर्यटनको उत्कृष्ट गन्तव्य हुन् । स्थानीयबासी जति सकृय छन्, त्यसमा गाँउपालीकाले होस्टेहैँसे गर्ने हो भने यो ठाँउको विकास हुनेमा दुईमत छैन । तर लाखौको लागतमा निर्माण गरिएको पन्चेबाजा पार्कको व्यवस्थित रुपमा संचालन समेत नहुँदा माल पाएर पनि चाल नपाउने भन्ने उखानलाई चरितार्थ पारेको भान हुन्छ ।