काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नाम राखिएको छ ।
अमेरिकी सरकार अन्तर्गतको भौगर्भिक सर्वेक्षण नियोग यूएसजीएसले जुलाई २९ अर्थात साउन १४ गते नेपाली चेली पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नाम राखेको हो । चन्द्रमाको क्रेटरको नाम पासाङको नाममा चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको स्मरण र सम्मानमा ल्हामु नामकरण गरिएको हो ।
ल्हामु नामाकरण गरिएको क्रेटरको डायमिटर १.४० किलोमिटर छ । पासाङ ल्हामुले २०५० वैशाख १० मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । तर फर्कने क्रममा उनको बाटोमै निधन भएको थियो । सगरमाथा आरोहण गर्ने पहिलो महिलाको कीर्तिमान भने जापानी नागरिक जुनको ताबेईको नाममा छ ।
उनी सन् १९७५ सगरमाथाको शिखरमा पुगेकी थिइन् । जापानी ताबेइले सगरमाथा आरोहण गरेको १८ वर्षपछि नेपालकी पासाङ ल्हामु सगरमाथाको शिखरमा पुगेकी हुन् । उनी सन् १९९३ मा सगरमाथा आरोहण गर्न सफल भएकी थिइन् । पासाङ ल्हामुको बारेमा २ दशकभन्दा लामो समय लगाएर ७२ मिनेन लम्बाईको डकुमेन्ट्री फिल्म पासाङ ः इन द स्याडो अफ एभरेस्ट समेत निर्माण गरिएको छ ।
विश्वका विभिन्न चर्चित फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भएको यो डकुमेन्ट्रीमा अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनको निर्देशन छ । यसबाहेक पासाङलाई नेपाल सरकारले राष्ट्रिय विभूतिको समेत सम्मान दिएको छ भने उनको सम्मामा हुलाक टिकेट पनि प्रकाशन भएको छ ।
त्यस्तै काठमाडौँका चावहिल चुच्चेपाटीमा उनको सम्मानस्वरुप शालिक समेत बनाइएको छ । साहसिक महिलाको प्रतिकको रुपमा लिइने पासाङ ल्हामुको सम्मानमा चन्द्रमाको क्रेटरको नाम राखिएको विषयलाई शेर्पा समुदायले उनीप्रतिको सम्मानको रुपमा लिएका छन् ।