काठमाडौं । सोमवार रातीदेखि काठमाडौंसहित देशैभर परेको वर्षाले विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउनुका साथै विभिन्न डुबानमा परेका छन् । अझ दुई दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आंकलन गरेको छ । यो अवस्थामा सरकारले सुरक्षाको प्रवन्ध कसरी मिलाएको छ त ?
सोमवार रातीदेखिको अविरल वर्षापछि आएको पहिरोमा परि बाग्लुङ र गुल्मीमा गरी १२ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा दुई घर पहिरोले पुरेको हो ।
बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र १० नम्बर वडास्थित आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएका चारजनाको घाइते अवस्थामा जीवितै उद्धार गरिएको छ । उता, गुल्मीको मुसिकोट नगरपालिका–१ विसौनास्थित विष्णु विकको घर पहिरोले पुरिँदा चारजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुई जनालाई सकुशल उद्धार गरिएको छ ।
यसैबीच, मंगलबार नै मुग्लिन–नारायणघाट सडक खण्डको सिमलतालमा असार २८ गते भएको दुर्घटनाको छानबिन समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सरकारले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सबै उपायहरु अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन् । बाढीपहिरोका घटनाहरु बढेसँगै सरकारले सुरक्षाको प्रवन्ध मिलाउने जनाएको छ ।
गत असार २८ गते सिमलताल पहिरोले बगाएर दुई यात्रु बस त्रिशुलीमा खसेको थियो । दुबै बसका ६३ यात्रु मध्ये ३७ यात्रुको अवस्था अझैसम्म पनि अज्ञात छ । अन्यको नारायणी नदीमा केही दिनपछि शव भेटिएको थियो । दुबै बससमेत अझै भेटिएका छैनन् ।
यसैबीच, मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भनी मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेपछि सरकारले विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखामा रात्री बस सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।