News 24 Television
अर्थमन्त्री पौडेल र पूर्वअर्थमन्त्री महतको द्वन्द्वमा देउवाको डण्डा !

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताका पाका खेलाडी हुन् । सत्तामा फर्किन हदैसम्म जानसक्ने देउवा कम बोल्ने तर कुटिल चाल चल्ने नेता हुन् । पछिल्लो समय गठबन्धन सरकारका पूर्वअर्थमन्त्री र वहालवाला अर्थमन्त्रीबीचको नोकझोकपछि देउवाले माहोल नबिगार्न दिएको निर्देशनले स्थिति फेरिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन, प्रवक्ता डा. प्रकाशशरण महत । महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा जिम्मेवारी पाइरहने गरेका महत सरकारमा नभए कांग्रेसको महत्वपूर्ण जिम्मेवारीमा छन् । उनले एमाले कांग्रेसको गठबन्धनलाई नै संकटमा पार्ने गरि संसदीय समितिमै नोकझोक गरिदिए । अर्थमन्त्री विष्णु पौडेलसँग कुटनीतिक बाझाबाझले नेताहरु तरङ्गित बने । पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले विष्णु पौडेलमाथि कटाक्ष मात्रै गरेनन्, खुकुलो मौद्रिक नीति र गभर्नरको एमाले झुकावबारे खुलेरै विरोध जनाए । गभर्नरले एमालेका अर्थमन्त्री आउँदा खुकुलो मौद्रिक नीति ल्याएकोमा उनको प्रमुख असन्तुष्टि देखिन्थ्यो ।

 कांग्रेसका नेताले चर्को आलोचना गरेपछि विष्णू पौडेलले पनि चलाखीपुर्वक जवाफ फर्काए । मौद्रिक नीतिको बचाउ गर्दै पौडेलले ट्युनिङ मिल्नुलाई अन्यथा लिन नहुने भन्दै बजार बढेको विषयलाई आफूमाथि लगानीकर्ताले गरेको विश्वासको रुपमा अर्थ्याए । 

दुई नेताबीचको नोकझोक र सवाल–जवाफपछि यसले सत्ता गठबन्धनमा तरङ्ग आउनु स्वभाविक थियो । विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी लिएसँगै शेयर बजार उकालो लाग्नु र यसले सकारात्मक दिशा समात्नुलाई महतले शंकाको दृष्टीले हेर्न थाले । तर, यहि विषयमा विवाद चल्ने देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई निर्देशन दिदै सुझबुझपूर्ण अभिव्यक्ति दिन भने । देउवाको इशारा पाएपछि केहि कम भएका महतले प्रतिनिधिसभा बैठकमा भने सेयर बजार बढेको विषयलाई प्रसंसा गरेपनि षडयन्त्र त भएको छैन भन्दै आशंका भने अन्तिममा व्यक्त गरे । 

महत मझदारबाट अघि बढ्न खोजेपनि सत्ता गठबन्धनमा दुई जनाबीचको विवाद यो या त्यो ढंगले अघि बढ्ने देखिन्छ । तर, यस्तो विवाद लामो समयसम्म जाला ? शंका छ । महतले शेयर बजार बढ्नुमा चलखेल भएको दाबी गरेपनि एमाले यो मान्न तयार छैन । हुनत संसदमा शेयर बजारमा भएको बढोत्तरीबारे अनेक प्रश्नहरु भने उठिरहेका छन् । 

शेयर बजार उकालो लागेको विषयमा अनेक विवाद र गलफत्ति चलेपनि अहिले नै चलखेल वा षडयन्त्र भयो वा भएन भन्ने बेला भइनसकेको केहि अर्थविज्ञले बताउने गरेका छन् । तर, सत्ता गठबन्धनमा देखिएको यस्तो विवाद भने रोचक बन्ने सम्भावना छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update