News 24 Television
कसले किन घेर्‍यो सोबिता गौतमलाई ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आफूमाथि सुरक्षा थ्रेट बढेको बताएकी छन् । उनले बाढी–पहिरो पीडितको अवस्था बुझ्न आइतबार आफ्नो निर्वाचन क्षेत्र जाँदा आफूमाथि दुव्र्यवहार भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गौतमले केही उच्छृङ्खल युवाहरुको हुलले आफूलाई घेरेर अपशब्द बोल्दै दुव्र्यवहार गरेको बताएकी हुन् ।

आइतबार साँझपख आफ्नो निर्वाचन क्षेत्र कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेकी सोबिता फर्किने बेला युवाहरुको घेरमा परेकी हुन् । उनले संसदमा बताएअनुसार पहिरो अवलोकन गरेर फर्किने क्रममा डेढ दर्जन जति जना युवाहरुले उनलाई घेरेका थिए । ती युवाहरुले गाँजा सेवन गरेका थिए भने केहीले मादक पदार्थ सेवन गरेका थिए । मूलपानी क्रिकेट रंगशालाको विपरीततर्फको डाँडामा मन्दिर नजिकै रहेको चियापसल आसपास ती युवाहरुले घेरेर अपशब्द बोल्दै आफूमाथि दुव्र्यवहार गरेको सांसद गौतमको भनाइ छ ।

सांसद गौतमले यसरी आफूमाथि दुव्र्यवहार गर्ने युवाहरु कुनै राजनीतिक अभिष्टद्वारा परिचालित रहेको समेत खुलासा गरेकी छन् । आफूलाई दुव्र्यवहार गर्नेमध्येकै एक युवकले आइतबार राति नै सामाजिक सञ्जालमा त्यस घटनाको भिडियो अपलोड गरेको उनले बताइन् । यसरी सामाजिक सञ्जालमा भिडियो हाल्ने युवा राष्ट्रियस्तरको कुनै दलका युवा संगठनका सदस्य रहेको उनको दाबी छ । यद्यपि त्यो कुन दल हो भन्नेबारे उनले खुलाइनन् । यसरी सांसदहरु आफ्नो निर्वाचन क्षेत्र जाँदा पनि डराउनुपर्ने अवस्था आएको भन्दै उनले सुरक्षा व्यवस्था कायम राख्न सरकारसँग माग गरेकी छन् ।

पछिल्लो समय रास्वपाका नेता, सांसदहरुमाथि नियोजित रुपमा आक्रमण गर्ने, चरित्रहत्या गर्ने खालका गतिविधि बढ्दै गएका छन् । मूलतः रास्वपाको उदय र लोकप्रियतादेखि डराएका संसदकै ठूला दल काँग्रेस–एमालेले रास्वपाको तेजोबध गर्न खोजेको आरोप रास्वाकै नेताहरुले लगाइरहेका छन् । संसदमा समेत काँग्रेस एमालेका सांसदहरुले रास्वपाका सांसद लक्षित भ्रामक एवं नियोजित हमला गरेको भन्दै रास्वपा सांसद स्वर्णिम वाग्ले आक्रोशित देखिएका थिए । यही साउन १५ गते प्रतिनिधिसभामा बोल्दै सांसद वाग्लेले रास्वपाका सांसदहरुलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गरेका थिए । वाग्लेले रास्वपामा युवा शक्ति र विदेशमा पढेका एवं अनुभव हासिल गरेका युवाहरु रहेको भन्दै उनीहरुलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने बताएका थिए । पञ्चायतकालमा काँग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भनेजस्तै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न खोजिएको उनको गुनासो थियो । 

डा. वाग्लेको आक्रोश सत्तारुढ दलहरु काँग्रेस–एमालेप्रति नै थियो । किनभने अघिल्लो दिन काँग्रेस सांसद ईश्वरी न्यौपाने र एमाले सांसद रघुजी पन्तले संसदमै डा. वाग्लेले नेपाल भारतको प्रभाव क्षेत्र रहेको भन्दै राष्ट्रिय सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएको भनेर आरोप लगाएका थिए । ०००

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update