News 24 Television
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा

रुपन्देही । रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । 

अष्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज समूहले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको टाइगर वान प्रा लि गत वर्ष गैरआवासीय नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले खरिद गरेको थियो । 

खरिद गर्दादेखि नै विवादमा परेको रिसोर्ट र त्यहाँ सञ्चालित क्यासिनोले पारिश्रमिक नदिँदा आइतबारबाट मजदुरहरु आन्दोलित भएका छन् । एक रिपोर्ट ।।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा रहेको टाइगर प्यालेस रिसोर्टमा क्यासिनो संचालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोरोना कालमा निष्कासन गरिएका र अहिले पुनर्बहाली गरेका कर्मचारीहरुलाई दिनुपर्र्ने तलब बक्यौता रकम नदिएपछि मजदुरहरु आन्दोलित भएका छन् । 

मजदूरले पाउनुपर्ने पारिश्रमिकका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कम्पनी व्यवस्थापन र मजदूरले गठन गरेको संघर्षसमिति बीच २०८० मङ्सिर १७ मा रकम भुक्तानी गर्ने सहमती भएको थियो । काठमाडौंको सांग्रिला होटल र टाइगरमा क्यासिनो सञ्चालन गर्दै आएको कम्पनीले काठमाडौंमा क्यासिनो बन्द गरेर टाइगरमा मात्रै संचालन गरेको थियो । 

त्यहाँ पनि लगानीकर्ताहरु बीच विवाद हुँदा संचालक रवि नेपालले अर्कै रोयल टाइगर रिक्रियसन प्रालि नामको कम्पनी दर्ता गरेर क्यासिनो संचालन गर्ने तयारी गरेका छन् । तर, मजदुरलाई दिनुपर्ने रकम भने दिएका छैनन् । जसले गर्दा टाइगर प्यालेस र सांग्रिलाको क्यासिनोमा काम गरेका मजदुर आन्दोलित भएका हुन् ।

पारिश्रमिक नपाउँदा मजदुरहरु श्रम अदालत गएका थिए । श्रम अदालतले क्षतिपूर्तिसहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने फैसला सुनायो । तर कम्पनीको अवस्थालाई हेर्दै कर्मचारीहरुले नयाँ ब्यवस्थापन टिमसँग सम्झौता गरे । 

हालका टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीसँग कर्मचारीहरुले प्रतिव्यक्ति राजीनामाको हकमा २ लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरेपछि केही कर्मचारीको पुनर्बहाली पनि भयो । तर ६० जना मजदुरले न त पारिश्रमिक पाए, न त पुर्नवहाली नै गरियो । त्यसैले उनीहरु पारिश्रमिक र विनासर्त पुनर्बहालीको मागसहित धर्नामा बसेका छन् । 

लिखित रुपमा गरेको सम्झौतालाई लत्याउँदै कम्पनीले बक्यौता रकम श्रमिकहरुलाई दिन आनाकानी गरेको मजदुरहरुको गुनासो छ । उनीहरुले सम्झौता कार्यान्वयनको माग गर्दै प्रशासनदेखि मन्त्रालयसम्म निवेदन दिएका छन् तर कार्यान्वयनमा कसैले चासो देखाएका छैनन् । 

अझ स्थानीय राजकुलो मिचेर संरचना बनाएको टाइगर रिसोर्ट माथि आरोप छ । कोरोनाकालमा कार्यरत कामदारहरुलाई बिना सूचना निष्कासन गरेपछि पनि रिसोर्ट विवादमा परेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update