काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट गुठी संस्थानका प्रमुखले भोेटो देखाउने परम्परा छ ।
जात्रामा राष्ट्र प्रमुखसहित विशिष्ट व्यक्ति र सर्वसाधारणको बाक्लो उपस्थिति थियो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा ‘यो भोटो कसको हो’ भनी देखाइन्छ । कोही सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिंदै आएको छ । तर, अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेका छैनन् ।
किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । भाग्यवस औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्य युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो ।
किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।
सदियौैदेखि चलिआएको भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छिन्द्रनाथको जात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो ।
यसवर्ष यो जात्रा तीन महिनासम्म चलेको थियो । जात्राको अन्तिम दिन आइतवार भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।
भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई खतमा राखी बुंगमति पुर्याएसँगै यस वर्षको जात्रा समापन भएको छ ।
कुनै पनि देशको पहिचानमा सांस्कृतिक परिचयको भूमिका सबै भन्दा बलियो हुन्छ । सयौं बर्षदेखि मनाइदै आएको मच्छिन्द्रनाथको जात्रा सिंगो नेपालको अमूल्य निधि बनेको छ ।
त्यसमाथि हेर्दा सामान्य लाग्ने एउटा भोटोसंग जोडिएको जात्राले सयौं बर्षदेखि हिन्दू र बौद्ध धर्मालम्बी नेपालीलाई एकै ठाउँमा उभ्याउँदै आउनु अर्को महत्वपूर्ण सन्देश बनेको छ ।