News 24 Television
प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई हैन कामलाई प्राथमिकता दिनुपर्छ : शर्मा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भाषणलाई हैन कर्मलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

शर्माले इतिहासमा बोली नभएर कर्म बिक्ने बताए । उनले नेपाली काँग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भए पनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे । अहिलेको सरकारसँग नागरिकका धेरै अपेक्षा रहेको भन्दै तिनलाई सम्बोधन गर्न समेत उनले आग्रह गरे ।

शर्माले भन्नुभयो, 'तपाईंहरुको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस् । अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई मिडियाका साथीहरु पनि यहाँ हुनुहुन्छ । इतिहासमा बोली होइन कर्म बिक्छ । सुशील कोईरालाले राम्रोसँग बोल्न सक्नुभएन । जिब्रोको क्यान्सरको अप्रेशनको कारण बोलि राम्रो बुझिएन । तर सुशील कोईरालाको बोली राम्रो नबुझिएर के भयो । सुशील कोईरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि । त्यसैले अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले, अहिलेको मन्त्रीपरिषद्का मन्त्रीहरुले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । उहाँहरुले गरेको कर्मले बोल्नुपर्छ । नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ । नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ । सरकारले ति विषयलाई सम्मान गर्नुपर्छ ।'

महामन्त्री शर्माले प्रदेशलाई अधिकार दिन समेत माग गरे । उनले भने, 'हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ ।'  साथै उनले भ्रष्टचारका सम्बन्धमा रहेका मुद्दाहरुमा पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update