News 24 Television
सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताएका छन् । उनले वर्तमान सरकारले स्टन्टबाजीका लागि कुनै काम नगर्ने पनि बताए । 

आईतवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्नेगरी स्टन्टबाजी काम नगर्ने बताए । नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले प्रतिगमनका लागि काँग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे । उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

नेकपा एमाले, नेपाली काँग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरुको यो समिकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षहरुलाई अभिवृद्धि गर्नका लागि भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले समृद्ध नेपाल : सुखी नेपाली बनाउने लक्ष्य अनुरुप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको जिकिर समेत गरे । देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार नै सरकार अघि बढिरहेको उनकाे दाबी छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update