News 24 Television
सुपको मुख्यमन्त्रीमा कमल शाहको दाबी पेश 

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । पूर्व मुख्यमन्त्री समेत रहेका शाहले नेकपा एमालेको समर्थनमा आइतबार उक्त दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँद्वारा मुख्यमन्त्री गठनका लागि भएको आह्वानबमोजिम शाहले मियाँकहाँ दाबी पेस गरेका हुन् । आज बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शाहलाई नै मुख्यमन्त्री बनाउने औपचारिक निर्णय गरेको थियो । 

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत गुमाएपछि सुपमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढेको हो ।  सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आजै अपराह्न ५ बजेसम्मको समय दिएका थिए । अब शाहलाई आजै मुख्यमन्त्रीमा नियुक्ति गर्ने मियाँको तयारी रहेको बताइन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update