News 24 Television
सत्ता गठबन्धनभित्र कुनै असन्तुष्टि छैन : विमलेन्द्र निधी

काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको तर्क गरे ।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको उनको भनाई थियो । पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताए । यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दाबी उनको छ । 

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update