News 24 Television
भलिवलमा चिनाउँदै नेपालः भारतमाथि ऐतिहासिक जित

काठमाडौं । फुटवलको क्षेत्रमा नेपालले खासै प्रगति गर्न नसके पनि पछिल्लो समय क्रिकेटमा राम्रो छाप पार्न सकेको छ । यू १९ विश्वकपमा समेत पुगेर नेपालले क्रिकेटमा बलियो सम्भावना देखाइसकेको छ । क्रिकेटमा जस्तै पछिल्लो समय भलिवल खेलको प्रदर्शन पनि उत्कृष्ट बन्दै गएका छ । 

नेपालले टी २० विश्वकपमा दोस्रो पटक सहभागिता जनाइसकेको छ । अमेरिका र वेष्ट इण्डिजमा भएको टी २० विश्वकप २०२४ मा नेपालको सहभागिता उत्साहजनक रहेको थियो । 

दश वर्षअघि विश्वकपमा प्रवेश पाएर आफ्नो सहभागिता मात्र जनाएको नेपालले दोस्रो पटक विश्वकपमा पुग्दा निकै रोमाञ्चक प्रदर्शन गरेको थियो । 
विश्वकपमा नेपाल बलियो दाबेदार दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको थियो । 

क्रिकेटमा नेपालले विश्वभर नै चिनाउँदै जाँदा नेपाली भलिवल पनि उत्कृष्ट बन्दै गएको छ । भुटानको थिम्पुमा भएको काभा विच महिला भलिवल प्रतियोगितामा नेपाली महिला टिमले शनिवार फाइनलमा उज्वेकस्तान ‘ए’ लाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ । 

नेपालले उज्वेकस्तान ए लाई २१–१७, २१–१४ को सेटमा पराजित गरेको हो । कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तानलाई पराजित गर्दै काभा भलिवल महिला च्याम्पियन बनेको हो । 

पाँच खेल खेलेको नेपाली महिला टिमले सबै खेलमा अपराजित रहँदै उपाधि जितेको हो । समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबार नै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१–१३, २१–१२ ले पराजित गरी फाइनल पगेका थिए । दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले रजत पदकमा चित्त बुझाएको थियो । 

शनिवार नै भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भएको खेलमा पुरुष टोलीले रजत पदक जितेको छ । सेमिफाइनलमा माल्दिभ्सलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको नेपाल माल्दिभ्स ए टिमसँग पराजित भई रजत पदकमा चित्त बुझाएको हो । 

शनिबार भएको फाइनल खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्ससँग २१–१९ र २१–१७ ले पराजित भयो । मानबहादुर दिल सुनारको जोडीले दुई वर्षअघि माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोन विच भलिवलमा पनि रजत पदक हात पारेका थिए । 

यता काठमाडौंमा जारी काभा उमन्स लिग अन्तर्गत शनिवार भएको खेलमा नेपाललाइ भारतको टिमलाई पराजित गरेको छ । भलिवलमा एशियाकै उत्कृष्ट मानिने भारतीय टोलीलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो । 

नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा उमन्स लिगमा शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update