News 24 Television
विश्वमा अर्को ठुलो हंगामा मच्चिदै, अमेरिकाको योजना यस्तो !

काठमाडौं । हमासका प्रमुख इस्माइल हानियाको हत्यापछि मध्यपूर्वमा तनावको संकेत देखिएको छ । हमासका प्रमुखको हत्यापछि इरानले इजरायलमाथि जवाफ दिने भन्दै चेतावनी दिइरहेको  छ । 

अब इरान इजरायलविरुद्ध छिट्टै आक्रमणमा उत्रिने दाबी अमेरिकाले गरिरहेको छ । यस्तोमा मध्यपूर्वमा तनाव थप बढ्ने निश्चित जस्तै छ । यसैलाई मध्यनजर गर्दै अमेरिकाले सुरक्षा सर्तकता थप बढाएको छ । 

इरानी राष्ट्रपतिको सपथमा सहभागी भएका हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको एक होटलमा हत्या भयो ।

हत्याको औपचारिक जिम्मेवारी कसैले नलिएपनि इजरायलले नै उनको हत्या गरेको शंका गरिदै आएको छ, भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि हानियाको हत्याले वार्ता र शान्ति प्राप्त नहुने बताइसकेका छन् । 

यस्तोमा कतार, रुस, इरान, टर्की लगायतका मुलुकले पनि विरोध जनाइरहेका छन् । तर, हानियाको हत्या मिसाइल प्रहारबाट भयो वा बम विस्फोटबाट भन्नेमा दुईथरी धारणा सार्वजनिक भइरहेका छन् । यसरी घटनाक्रमहरुको विकाससँगै मध्यपुर्वमा तनाव थप बढ्ने दाबी गर्न थालिएको छ । 

अमेरिकाको प्रतिक्रिया

इजरायलको आक्रमणलाई उक्साउदै प्यालेस्टाइनमा हमास सिद्ध्याउने योजनामा समर्थन गर्ने मुलुक हो, अमेरिका । अमेरिकाले इजरायललाई गहिरो समर्थन गर्दै आएको मात्रै देखिन्न, लडाकु विमानदेखि अत्याधुनिक प्रविधि समेत दिइरहेको छ । 

यस्तोमा अमेरिका युद्ध अन्त्यको पक्षमा नभएको आरोप पनि लाग्ने गरेको देखिन्छ । तर, हमास प्रमुख हानियाको हत्यापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले हत्या गर्ने कदमको विरोध गरेका छन् । हानियाको हत्याले शान्ति र वार्ताको वातावरण बन्न नसक्ने भन्दै बाइडेनले यो कदमको विरोध गरेका छन्।

इरान क्रुद्ध बन्दा इजरायल मौन

इरानले आफ्नो भूमिमा हमास प्रमुखको हत्या भएको विषयलाई गम्भीर रुपमा लिएको छ । इरानले इजरायलमा जतिबेला पनि आक्रमण गर्ने तयारी गरिरहेको विभिन्न खुफिया एजेन्सीहरुले दाबी गर्दै आएका छन । 

हमास प्रमुख हानियाको निधनलाई बलिदानी भन्दै इरानले उनको हत्याको बदला लिने र बलिदानी खेर जान नदिने बताएको छ । 

यस्तोमा इजरायल भने मौन देखिन्छ । इजरायलले हानियाको हत्याबारे प्रतिक्रिया नदिएपनि धेरैले यो घटनामा इजरायलकै गुसपैठ भएको बताउने गरेका छन् । 

अमेरिकी राष्ट्रपतिको चुनावमा पर्ने प्रभाव

इजरायल–प्यालेस्टाइन युद्ध र रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा नै संकट देखिइरहेको अवस्थामा अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित बन्ने विश्लेषण हुन थालेका छन् । 

अमेरिकाको चुनावमा रुसले सुष्म विश्लेषण गरिरहेको र रुस–युक्रेन युद्धमा डोनाल्ड ट्रम्प निर्वाचित हुने र त्यसपछि युक्रेनबाट कब्जा गरिएको भूभाग लिएर युद्ध अन्त्यको घोषणा गर्ने मुडमा रुस देखिन्छ । 

यसका लागि पनि रुस युक्रेन युद्धको विषय मात्रै नभई इजरायल प्यालेस्टाइन युद्धले पनि अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित बन्ने बताइन्छ । 

यसको लाभ ट्रम्पले लिने देखिएपछि डेमोक्रेटिक पार्टी र राष्ट्रपति बाइडेनले पनि हमासका प्रमुखको हत्याको विषयमा औपचारि प्रतिक्रिया दिएको अर्थमा लिइएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update