News 24 Television
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त 

सिन्धुपाल्चोक । निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । 

असार ३० गते राति लार्के खोलामा आएको बाढीपछि त्यहाँका सडक अवरुद्ध भएका छन् भने स्वास्थ्य सेवा, विद्युत, सञ्चार समेत विच्छेद भएपछि स्थानीय त्रासमा परेका छन् । 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के खोलामा आएको बाढीपछि मेलम्ची भोताङ सडकमा पुर्ण रुपमा क्षतिपुगेको छ । वडा नम्बर १ र २ जोड्ने चिण्डे झोलुङ्गे पुल, २ र ४ जोड्ने महाकाल झोलुङ्गे पुल, निक्ततापुल, याङ्गङ्ग्रीपुल र काक्टाङ कुक्टिङ पुल पूर्णरुपमा बगाएको छ । 

यहाँ एक गाउँबाट अर्को गाउँ समेत जान सक्ने अवस्था छैन । विरामी पर्दा हेलिकप्टर बोलाउनु बाहेक अरु विकल्प छैन । सोही कारण स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ ।

बाढी र पहिरोले  खेती योग्यजमिन कटान गर्ने क्रम रोकिएको छैन । खाल्डे खोलालगाएतको बाटो पहिरो र बाढीले कटान गरेपछि यो गाउँपालिका सडक सम्पर्कबाट पुरै टुटेको छ । 

याङ्ग्ररी, बरुवा, जतन, बाँसखर्क लगायतका बस्ती तर्ने झोलुङ्गे पुलहरु बाढीले बगाएका छन् । जनजीवन अस्तब्यस्त बनिरहेको छ । याङ्ग्री, लार्के, सुनचौर, रिपार, डाले, ब्राथु, बाङदाङ, छ्युतोक्पु, गाङखर्क, माईखर्क लगाएतका बस्तिका बासिन्दा पनि राहतको पर्खाइमा छन् ।

२०७८ असार १ गतेको याङ्ररी र लार्के खोलाको बाढीले तंग्रीन नपाउदै स्थानीयको जनजीवन फेरी कष्टकर बन्दै गएको छ । 

ठाडो खोलाले झोलुङ्गे पुल र सडक संरचना बगाउँदा विपदजन्य सामान पुराउन समेत समस्या भएको छ । बाढी पश्चात हेलिकप्टर मार्फत संघीय सांसद मोहनवहादुर बस्नेतसहित प्रमुख जिल्ला अधिकारीको समुहले निरिक्षण गरेको छ । जनताको पीडामा नजिक बन्नुपर्ने गाँउपालिका अध्यक्ष टासि लामा एक महिनाको लागि ध्यान गर्न भन्दै गुफामा छन् । 

न टेक्ने हाँगो न समाउने लौरो भने झै वाढी र पहिरोको चेपुवामा परेका स्थानीय समस्या नै समस्यामा फसेका छन् । 

उसोतः यातायात सञ्चालनका सम्भावनाहरूको खोजि भईरहे पनि खाद्य समस्याको सुचना प्राप्त नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताउछन् । 

बाढी पहिरो जस्ता मनसुनजन्य विपत्तीका कारण वषेनी सिन्धुपाल्चोकका नागरिकले सास्ती खेप्दै आएका छन् । 

विपद् व्यवस्थापनका लागि भन्दै बस्ने गरेका बैठक र छलफल समेत निष्प्रभावि बन्ने गरेका कारण पनि नागरिकका दुख उस्तै छन् । यसकारण स्थानीय, प्रदेश र केन्द्र सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update