काठमाडौं । देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् ।
शेर्पा समुदायका धेरैलाई पर्यटन व्यवसायमा आवद्ध भएका कारण विदेश जान सामान्य हुन्छ । संगम शेर्पा पनि चाहेका भए युरोप अमेरिका पुगेर त्यतै सेटल हुन सक्थे । तर उनीसँग आफ्नै देशलाई हरेक कोणबाट समृद्ध बनाउनु पर्छ भन्ने अठोट छ । त्यही अठोटलाई मुर्तरुप दिन ‘कृषि र पर्यटन’ भनाईमा मात्रै सिमित नरहोस् भन्ने उद्देश्यले करिब १२ वर्षअघि उनले अर्गानिक फार्म हाउसको परिकल्पना गरेका थिए । कृषि र किसानलाई प्रोत्साहन गर्नुपर्छ भन्दै अमेरिका बस्ने मौका छाडेका संगमले काठमाडौँको कपनमा १८ रोपनीमा विशाल फार्म हाउस फैलाएका छन् ।
फार्म हाउसमा एक दर्जनभन्दा बढिले रोजगार समेत पाएका छन् । कोभिड र आर्थिक मन्दीले व्यापार सुस्ताउँदा पनि उनी थाकेनन् । ‘आज रोपेको विरुवाले भोलि सुन्दर फल फलाउँछ’ भन्नेमा विश्वस्त देखिएका संगमको त्यो सपना यथार्थमा परिणत भएको छ ।
आज उनी एग्रो टुरिजम अर्थात कृषि पर्यटनमा लाग्न चाहनेहरुका लागि रोलमोडल बनेका छन् । अवसर पाउदाँ पनि सुविधासम्पन्न देश छोडेकोमा उनलाई कुनै कोणबाट पनि अहिले पछुतो लाग्दैन ।
काठमाडौं कोलाहालबाट १५ मिनेट मात्रै टाढा छ, अर्गानिक फार्म हाउस । कपनस्थित आकाशेधारा चोकबाट केही मिनेट उकालो लागेपछि फार्म हाउस पुगिन्छ । त्यहाँ इम्पोर्टेड लाइटले होइन बेगम बेली फुलले स्वागत गर्छ ।
आल्चा, आरु, आँप, अनार, गुलाब, ब्ल्याक बेरी, एभोगाडो, धुपीका बोटहरु पनि छन् । दौंतरी, सोल्टिनी, देउराली घर जस्ता मौलिक नामहरु दिइएका कटेज छन् ।
काउली, गोलभेडा, सागपात, बन्दा, खुर्सानी लगायतका तरकारीलाई आवश्यक वातावरण र स्थान मिलाएर रोपिएको छ । परिवार र बालबलिकासहित रमाइलो गर्न पर्याप्त ठाउँ छ । अझ, रेस्टुरेन्टको रेगुलर भन्दा फरक मेनुले पनि आर्कषित गर्छ ।
ताप्लेजुङस्थित साँगुमा जन्मेका संगमलाई वि.सं २०५२ सालमा काठमाडौंको जीवन संघर्षमय नै थियो । युरोप अमेरीका घुमेका संगमको अनुभवमा नेपाल हरेक कोणले उत्कृष्ट देश हो । विदेश जाने खर्चले नै देशमा व्यवसाय गर्न सुझाउँछन्, उनी ।
बैदेशिक रोजगारीमा जानै पर्छ भन्ने भाष्यलाई तोडेका संगमले अब सातै प्रदेशमा अर्गानिक फार्म हाउस खोल्ने तयारी गरेका छन् । आफूसँग भएको सिर्जनशीलताको सदुपयोग गर्दै आफैं रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उनको सफलताको मुल सुत्र हो ।