News 24 Television
पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ?

रुपन्देही । परम्परागत माछाको विकल्पमा रुपन्देहीमा पंगास अर्थात् बैखी माछाको व्यवसायिक पालन शुरु गरिएको छ ।

परम्परागत भन्दा उत्पादन र उत्पादकत्व वृद्धि हुने भएपछि पंगास माछा पाल्ने किसान बढ्दै गएका छन् । सरकारले पनि पंगासको व्यवसायिक पालनमा किसानलाई आकर्षित गर्ने योजना बनाएको छ ।
 
रुपन्देहीमा व्यवसायिक रुपमा पंगास अर्थात् बैखी माछा पालनलाई प्रबद्र्धन गर्न सुरु गरिएको छ । कम लगानीमा र थोरै जग्गामा पनि पालन गर्न सकिने अनि सबै उमेर समूहका मानिसले रुचाउने भएकाले पनि यसको प्रवद्र्धनमा जोड दिइएको हो । 

पहिलो चरणमा सियारी र शुद्धोधन गाउँपालिकाका ६ जना किसानले ५ हेक्टर बढी जग्गामा पंगास माछा पालन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीले माछाको उत्पादन र उत्पादकत्वबारे अध्ययनपछि किसानलाई पंगस माछा पालनामा प्रोत्साहन गरेको हो । 

परियोजनाले माछाका भुरामा ५० प्रतिशत अनुदान दिएर किसानहरुलाई पंगास माछा पालनमा आकर्षित गराइरहेको छ । रुपन्देहीमा उत्पादित पंगास माछा सीमा क्षेत्रमा चोरीपैठारीबाट भित्रिने भारतीय पंगास माछा भन्दा स्वस्थ र गुणस्तर रहेको किसान र विज्ञको दावी छ ।

रुपन्देहीमा गत वर्षबाट पंगास माछाको व्यवसायिक पालन शुरु गरिएको थियो । परम्परागतभन्दा पंगासको उत्पादन र उत्पादकत्व राम्रो छ । त्यसैले यसको क्षेत्रफल बढाउने योजनामा परियोजना लागिरहेको छ । 

रुपन्देहीमा पालिँदै आएको परम्परागत माछा प्रति हेक्टर ५ देखि ६ मेट्रिक टन मात्रै उत्पादन हुन्छ । तर पंगास भने त्यसको पाँच गुणा अर्थात् प्रति हेक्टर २५ मेट्रिक टनसम्म उत्पादन भएको परियोजनाको दावी छ । 

छिटो हुर्किने, काँडा कम हुने र फ्रोजन समेत गर्न सकिने भएकाले यसले किसानलाई राम्रो मुनाफा दिने जनाइएको छ । यसैले रुपन्देहीमा मत्स्य सुपरजोन लागू भएका ८ वटा स्थानीय तहमा पंगास माछाको व्यवसायिककरणमा जोड दिइएको छ ।

रुपन्देही मत्स्य उत्पादनको हब हो । यहाँ उत्पादित माछा  दर्जनौं जिल्लामा पठाउने  गरिन्छ । तर, भारतबाट अवैध बाटो हुँदै आयात हुने माछाका कारण किसान भने मर्कामा पर्दै आएका छन् । 

खासगरी पंगास माछा बढी मात्रामा अवैध बाटोबाट भित्रिने गरेको छ । अवैध आयातमा कडाई गरी उपभोक्तामा स्वदेशी माछाको प्रयोग गर्ने बानीको विकास गराउँदै पंगास माछा उत्पादनको क्षेत्र विस्तार गर्दै व्यवसायिकरण गर्नतर्फ लाग्नुपर्छ । 

यसले गुणस्तरीय माछाको उत्पादन र उत्पादकत्व बढ्छ नै किसानले लगानी अनुसारको मुनाफा पनि सहजै पाउन सक्छन् । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update