काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरका मेयर बालेन शाहको भनाभन निरन्तर चलिरहेको छ । बालेन, मेयरमा निर्वाचित हुनुअघिबाटै ओली प्रवित्तिको आलोचक थिए । मेयरको उम्मेदवारी दिइरहेकै बेला बालेनले ओली प्रधानमन्त्री रहँदा निर्माण भएको धरहरालाई सेतो टावरको संज्ञा दिन्थे ।
त्यसयता मेयरमा निर्वाचित भएपछि पनि ओली र बालेनबीच भनाभन भई नै रहन्छ । सुकुम्बासी बस्ती हटाउने विषयमा होस् वा न्यूरोडको सडक व्यवस्थापनको विषयमा, ओली र बालेनबीच भनाभन हुँदै आएको छ ।
बेला बखत स्थानीय तहको अधिकारको हनन गरिएको भन्दै बालेन केन्द्र सरकारविरुद्ध असन्तुष्ट रहन्छन् । यसका अलावा पछिल्ला केही राजनीतिक विषयमा पनि ओलीविरुद्ध बालेनेले गम्भीर आरोप लगाउँदै आएका छन् ।
गिरीबन्धु जग्गा प्रकरणमा बालेनले लगाएको आरोपकाविरुद्ध ओली ‘फिल्ड’मै उत्रिन खोजे । तर ओली सरकारको नेतृत्वमा आएपछि यो विषय केही मत्थर भएको छ । त्यसअघि न्यूरोडमा फुटपाथ बढाउने विषयमा भएको विवादमा पनि एमाले ‘कनेक्सन’ रहेको बालेनको सचिवालयले आरोप लगाएको थियो ।
प्रधानमन्त्री ओलीले अहिले विभिन्न भौतिक संरचनाको उचित प्रयोग र व्यवस्थापनमा चासो दिइरहेका छन् । यसक्रममा उनले धरहराको पनि चर्चा गर्न गरेका छन् । धरहराको प्रशंगमा ओलीले महानगरको निर्णय विपरित अभिव्यक्ति दिएका छन् ।
गत मंगलबार सचिवहरुलाई प्रधानमन्त्री कार्यलयमै बोलाएर ओलीले धरहरा संचालनका लागि निर्देशन दिएका थिए । उता काठमाडौं महानगरले न्यूरोडको सडक पार्किङको विकल्पमा धरहराको अन्डरग्राउन्डलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको थियो । तर यही पार्किङको निर्णयलाई निर्माण सम्पन्न नभएको कारण देखाउँदै केन्द्र सरकारले कार्यान्वयन नगर्न निर्देश गरेको थियो । जबकी धरहराको उद्घाटन केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदै गरिसकेका थिए । उक्त समय धरहरा निर्माण सम्पन्न नै भएको थिएन ।
प्रधानमन्त्री ओलीले धरहरामात्रै नभइ अन्य विभिन्न भौतिक संरचनाको प्रयोग र संचालनको बारेमा पनि चर्चा गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल तथा दमकस्थित निर्माण भएको टावरको सम्बन्धमा पनि ओलीले उपयुक्त प्रयोजन गर्न सकिने विषयको उठान गरिरहेका छन् ।
यी संरचनाहरु अनावश्यक रहेको भन्दै संसदमै पनि प्रश्न उठ्ने गरेका छन् । प्रधानमन्त्री ओलीले पानीजहाज र रेल संचालनको विषयपनि प्राथमिकतामा रहेको जनाउँदै यसप्रति केन्द्रीत हुन निर्देशन दिइरहेका छन् ।
नेपालमा पानी जहाज र रेल संचालन गर्ने ओलीको पुरानै चाहना हो । ०७४ सालको आमनिर्वाचन अघि चुनावी तयारी गरिरहँदा पनि ओलीले जनतामाझ रेलको सपना बाँडेका थिए ।
तर, ओलीले पानीजहाज र रेलको सपना बाँडेको ७ वर्ष नाघिसक्दा पनि यो कामले सार्थकता पाएको छैन । ओली ०७४ को आम निर्वाचनपछि पनि ३ वर्षबढी प्रधानमन्त्री बने । तर रेल र पानीजहाज संचालनको कार्यले सार्थकता प्राप्त गर्न सकेको छैन ।
यसअघि नै जनतामाझ ठोष ढंगले आश्वसन दिएकै कारण पनि ओली अहिले यो विषय उठान गर्न बाध्य छन । तर, उता काठमाडौं महानगरका मेयर बालेनले भने राजनीतिक दल र तिनका नेताहरुको चरित्रप्रति व्याङ्ग्य गर्दै बोल्नुभन्दा काम गर्नुपर्ने टिप्पणी गर्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीले धरहराको प्रशंग निकाल्नु तथा पानीजहाज र रेल संचालनलाई प्राथमिकता दिनु भन्दै सचिवहरुलाई दिएको निर्देशन लगत्तै बालेनले यस्तो टिप्पणी गर्नु सरकारप्रतिको व्याङ्ग्य भनेर बुझ्न कठिन छैन ।
ओली र बालेनबीच सुरुका दिनबाटै दोहारी चल्ने गरेको छ । र, हाल ओली प्रधानमन्त्री बनेर आउँदासमेत मेयर बालेनले भने ओली प्रवित्तिमाथि खेदो खन्न छाडेका छैनन् ।