काठमाडाैँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।
उनले भारतबाट हराएका बसु र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए । यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने उनकाे भनाइ छ ।
सभापति यादवले राजदुतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने बताए । उनले नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदूतहरुले हस्तक्षेप गर्नु नेपालीहरुका लागि सह्य नहुने बताए । मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने उनकाे भनाइ छ ।
राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सो विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाइरहेका छन् । राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरुको छ ।