News 24 Television
स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल

सोलुखुम्वु । ओखलढुंगाको सिमानामा पर्ने सोलुखुम्बुको पत्तालेमा उच्च प्रविधिको स्याउ खेती विस्तार गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुका गरी ७ जना लगानीकर्ताले अहिले पत्तालेमा इटालीबाट ल्याइएको धेरै फल दिने स्याउ खेती विस्तार गरेका हुन् । 

झन्डै ६ करोड रुपैयाँ लगानी गरेर शुरु गरिएको स्याउ खेतीबाट दोस्रो वर्षबाटै आम्दानी हुनथालेपछि लगानीकर्ताहरु थप उत्साहित देखिन्छन् । 

यो दृष्य सोलुखुम्बुको दुघकुण्ड नगरपालिका ८ पत्तालेमा विस्तार गरिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो स्याउ बगानको हो । ब्यावसायिक स्याउ खेतीको सम्भावना देखिएपछि लामो समयदेखी बाँझो रहेको यो जमिनमा विगत तीन वर्ष यता स्याउ खेती विस्तारमा जोड दिइएको छ । सोलुखुम्बु र ओखलढुंगाका ७ जनाले मिलेर स्याउ खेतीको विस्तारलाई निरन्तरता दिएका हुन् । 

यहाँ १ सय ८६ रोपनीमा इटालीबाट ल्याईएका उन्नत प्रजातिका १८ हजार ५ सय स्याउका विरुवा लगाइएको छ । यि विरुवाले रोपेको दुई वर्षपछि देखि नै फल दिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ लगानीकर्ताको ध्यान बढेको हो । 

२ हजार ८ सय भन्दा बढीको उचाईमा सुरु गरिएको यति ठुलो परिमाणको स्याउ खेतीले अन्य किसानमा पनि रौनक बढाएको छ । यस स्याउ बगानमा रेडफुजी, गाला, फुजीकिकु, गोल्डेन, रेड डिलिसिस जस्ता ६ प्रकारका स्याउ लगाईएको छ भने धेरेजसोमा उत्पादन पनि भैरहेको छ । 

स्याउका बोटबाट उत्पादन सुरु भएदेखी २५ देखी ३५ वर्षसम्म फल दिने बताईन्छ । एउटै बोटमा ४५ किलोसम्म फल्ने यो स्याउ खेतीको रेखदेख र स्याहारका लागि पनि समय र जनशक्ति व्यवस्थापनमा भने ध्यान दिनुपर्छ । 

यस बगानबाट उत्पादित स्याउ बजारमा प्रतिकेजी १ सय ६० देखी २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । भदौ अन्तिमदेखी असोजको पहिलो साताबाट टिप्न मिल्ने स्याउ बिक्रीबाट गत वर्ष मात्रै ४५ लाख बढी आम्दानी भएको थियो । 

यस वर्ष यस बगानमा स्याउको उत्पादन बढेकाले आम्दानी पनि तेब्बर हुने अपेक्षा छ । यस स्याउ खेतीमा सरकारले पनि सहयोग गरेको छ ।

खस्किँदै गएको परम्परागत खेतीको विकल्पमा यस्ता नगदे बाली कृषकका लागि विकल्प बन्न सक्छ ।  त्यसकारण मुलुकभित्रै उत्पादन बढाउनका लागि यी र यस्ता खाले खेती विस्तारतर्फ कृषकलाई आर्कषित गर्न सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update