काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चतुर खेलाडी मानिन्छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको जम्मा ३२ सिट भए पनि डेढवर्ष बढी प्रधानमन्त्री पद थमाउन सफल भए । यही प्रकारका राजनीतिक फेहरिस्त उनको जीवनमा धेरै छन् ।
उनको राजनीतिक चतुर्याइँकै आधारमा उनलाई कतिपयले ‘डायनामिक’ नेताको रुपमा पनि चित्रण गर्ने गरेका छन् । तर प्रचण्ड चरित्रकै कारण मुलुक सँधै अस्थिरताको सिकार बनिरहेको छ । तसर्थ प्रचण्डलाई ‘डायनामिक’ भनिएपनि अन्य कतिपयले उनलाई अस्थिर पनि भन्ने गर्छन् । हुन पनि हो, नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा प्रचण्डको भूमिका अतुलनीय छ । तर त्यसपछि मुलुकले विकासको गति नलिनु पनि प्रचण्डको अस्थिरतासँग जोडिएको कतिपय नेताहरुले आरोप लागउने गरेका छन् । तर प्रचण्ड भने आफूलाई चलायमान माक्र्सवादी चरित्रसँग दाज्ने गर्छन् ।
प्रचण्डले तत्कालीन शासन व्यवस्थाविरुद्ध १० वर्षे सशस्त्र युद्ध गरे । शान्ति सम्झौतापछि २०६४ भएको आमनिर्वाचनमा नेकपा माओवादी सबैभन्दा ठूलो दल बन्यो । प्रचण्डले आफ्नै नेतृत्वमा शक्तिशाली सरकार बनाउने अवसर पाए । तर यो सरकार ९ महिना बढी टिक्न सकेन ।
त्यसपछिका सबै निर्वाचनमा माओवादी तेस्रो दल बन्दै आएको छ । तरपनि प्रचण्डले त्यसयता दुई पटक सरकारको नेतृत्व गर्ने अवसर प्रप्त गरे भने, माओवादी धेरैजसो समय सरकारमै रह्यो । साथै माओवादी विभन्न पटक सरकार गिराउने र बनाउने भूमिकामा पनि रहँदै आएको छ । यहीबीचमा दर्जनभन्दा बढी सरकार परिवर्तन भए । यो नै मुलुकको अस्थिरताको मुख्य मापक हो ।
यसबीचमा ७४ सालको निर्वाचनपछि बनेको ओली नेतृत्वको सरकार नै सबैभन्दा लामो समय टिकेको सरकार हो । तर माओवादीसहित नै बनेको उक्त सरकार प्रचण्ड–ओलीको बेमेलताकै कारण ढल्न पुग्यो । स्मरण रहोस् माओवादीले ०७४ सालको आम निर्वाचनमा एमालेसँग गठबन्धन गरेपनि स्थानीय तहमा भने काँग्रेससँग तालमेल गरेको थियो ।
माओवादी केन्द्रले गिर्दो शक्तिबाट बच्न निर्वाचनमा विभिन्न दलसँग गठबन्धन गर्ने गरेको छ । ०७४ को निर्वाचनमा एमाले र माओवादी नै गठबन्धन गरेर निर्वाचनमा होमिए । यसको परिणाम राम्रै आएपनि ओली–प्रचण्डबीच अस्थित्व र स्वामित्वको लडाइँ हुँदा सरकार ढल्यो ।
यसपछि ०७९ सालको आम निर्वाचनमा पनि माओवादीले काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गर्यो । तर निर्वाचनपछि कस्को नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा विवाद भयो । केही गर्ने हुटहुटी व्यक्त गर्दै सरकारको नेतृत्व गर्न पुगेका प्रचण्डले डेढवर्षकै अवधिमा ४ पटक विश्वासको मत लिए । समीकरण बदली रहने प्रचण्डले एमालेको समर्थन पाउँदा काँग्रेसलाई प्रतित्रियावादीको रुपमा चित्रण गर्थे भने, काँग्रेसको समर्थन पाए एमालेलाई नै प्रश्चगामी देख्थे ।
प्रचण्डको यही अस्थिर चरित्रको कारण अहिले काँग्रेस र एमालेले नै मिलेर सरकार गठन गरेका छन् । काँग्रेस र एमालेको मिलनले माओवादी भने केन्द्र किनाराकृत हुनुपरेको छ । कुनै बेला एकै दलमा हुँदा ओलीलाई भित्तामा पुर्याउने अभिव्यक्ति दिने प्रचण्ड ठिक अहिले आँफै भित्तामा पुगेका छन् ।
अनपेक्षित रुपमा दुई ठूला दलहरु मिलेर सरकार बनाएपछि प्रचण्ड झस्किएका छन् । यही झस्काइले उनको चेत खुलेकोे छ । उनी अब संगठन निर्माणमा केन्द्रीत हुने मुडमा पुगेका छन् । सँधै सत्ता केन्द्रीत राजनीतिमा रुमालिने प्रचण्डले संगठन निर्माणमा ध्यान दिएका थिएनन् । तर अब भने प्रचण्ड जनतामाझ जाने निश्कर्षमा पुगेका छन् ।
प्रचण्डले यसअघि नै ०८४ मा माओवादी एक्लै चुनाव लडेर जित्ने र भ्रष्टहरूलाई बढार्ने अभिव्यक्ति दिइरहेका छन् । उनले पार्टीको पदाधिकारी बैठकमा पनि नेताहरुलाई यस्तै ब्रिफिङ गरेका थिए । आफ्नो पछिल्लो १८ महिने कार्यकामा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको प्रचण्डको दावी छ । जनता र माओवादीको सम्बन्ध टुटेको आभाष गर्दै अध्यक्ष प्रचण्डले अब पार्टी पङ्तीलाई नै सुख दुःख बुझ्न र समस्या सुन्न देशैभर जान निर्देशन दिन थालेका छन् ।
माओवादी शान्ति प्रकृयामा आएदेखि हालसम्म विभिन्न चरणमा सरकारको नेतृत्व गरेको छ । त्यतिमात्रै नभइ माओवादी धेरैजसो समय सरकारमै रहँदै पनि आएको छ । सँधै सत्ताको पछि लाग्दा जनाधार गुमाएका प्रचण्ड काँग्रेस एमालेको मिलनपछि भने चेतिएका छन् । यो सँगै माओवादी जनतामा जान बाध्य स्थितिमा पुगेको छ ।