बाँके । नेपालमा दुई दर्जन बढी विभिन्न जाती समुदाय छन् । सबैजसो जाती समुदायको आ–आफ्नै पहिचान र संस्कृतिहरु छन् । विभिन्न जाती समुदाय मध्ये एक हो थारु जाती ।मधेसको भूमिपुत्रका रुपमा परिचित रहेका थारु समुदायभित्र पनि पुराना संस्कृतिहरु हराउँदै गएका छन् । त्यसैले यो समुदाय पछिल्लो समय आफ्नो घरभित्रैबाट आफ्नो संस्कृतिको संरक्षणको अभियान थालेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा थारु समुदायको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० अर्थात कुल जनसंख्याको ६ दशमवलव ५७ प्रतिशत रहेको छ । हिन्दु धर्मावलम्बीहरुले मान्ने सबै देवी देउताहरुको प्रतिक घरघरमा राख्ने गरेका थारु समुदायमा वस्तु शास्त्रमा पनि निपूर्ण मानिन्छन् । उनीहरुको घरको बनावट, पूजा गर्ने विधि, पूजा र भान्सा कोठा निर्माण गर्ने पद्धतिले पनि यो कुरालाई पुष्टी गरेको छ । थारु समुदायले बिना पुरोहित आफैले वास्तुशास्त्र मिल्ने गरी नै आफ्नो घर निर्माण गरेका हुन्छन् ।
उनीहरुले पूर्व–पश्चिम मोहडा भएको उत्तर–दक्षिणको घर बनाएका हुन्छन् । घरको दक्षिणी भागमा बैठक कोठा, उत्तर–पूर्वमा देवताको कोठा, त्यसको दक्षिणमा सुत्ने कोठा, उत्तर–पश्चिम कोठामा भान्सा कोठा बनाउने प्रचलन थारु समुदायमा अझैँ पनि विद्यमान छ ।
यो समुदायको मृत्यु संस्कार पनि आफ्नै किसिमको छ । मानिसको मृत्यु भए शव पश्चिम ढोकाबाट बाहिर निकाल्नेदेखि क्रियापुत्रीले पश्चिमी ढोकामात्र प्रयोग गर्ने जस्ता पौराणिक चलन यो समुदायमा छ । घरको दक्षिण–पूर्व कोठामा भैँसीको रक्षक ‘ढम्रज्वा’ राखिन्छ भने, पूर्वको आगनमा भवानी देवीलाई स्थान दिइएको हुन्छ । घरको पूर्वतर्फ आफ्ना कुल देवता राख्ने मन्दिर (मर्वा) बनाउने लगायतका संस्कार घरबाटै शुरु गरेका छन् ।
थारु समुदायको पौराणिक मान्यता अनुसार घरको पश्चिम–दक्षिण तर्फ सकभर सुत्ने कोठा बनाइदैन । देवतालाई तला भएको घरमा नराख्ने परम्परा पनि थारु समुदायमा छ । तर, पछिल्लो समय भने देवताका लागि तला भएको घर बनाउन थालिएको छ । थारु समुदायमा सजावटको लागि पनि घरभरी चित्र कोरिएको हुन्छ, जसलाई थारुको घर हो भनेर चिनारीको रुपमा जनाउने स्थानीय कृष्ण चौधरी बताउँछन् ।
प्रकृतिलाई मान्ने यो समुदायले जंगली तथा हिंस्रक जनावरको आक्रमणबाट जोगिन घरको भित्तामा हिंस्रक जनावरको चित्र बनाउने गरेका छन् । घर अगाडि सुँगुर बाँध्ने प्रचलन पनि आफ्नो संस्कृतिसँग जोडिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् । तर पछिल्लो पुस्ताले विभिन्न संस्कृतिहरु विर्सिन थालेकाले पुराना संस्कृति संरक्षणका साथै ज्ञान सिप कलालाई जोड दिन थालिएको छ ।
पूर्व मेचीदेखि महाकालीसम्म मध्य–पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई क्षेत्रमा थारु समुदायको बसोबास रहेको छ । त्यसैले यो समुदायको ज्ञान सिप कलालाई जोड्न सके आय आर्जन समेत फलदायी बनाउन प्रेरित गर्नेछ ।