मुगु । संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ ।
संघीय राजधानी काठमाडौंमा अहिलेपनि सुन तस्करीदेखि सुनको चर्को मूल्यको चर्चा हुन्छ । तर कर्णाली प्रदेशको दूरदराज मुगुमा भने सुन होइन नुनको चाहीँ बढि चर्चा छ । मुगुवासीले सहजै नुन पाउँदैनन् ।
अहिले मुगुमा ५ के.जी नुन पाउन ५ सयदेखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने अवस्था छ । मुगु जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आर्थिक बर्ष २०८९\८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आए पनि हिजो आज नुनको चर्को अभाव हुन थालेको छ ।
हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिकलाई नागरिताको फोटोकपी र हातको नङमा रेजा लगाएर प्रति ब्यक्ति ५ के.जी नुन बाँडिन्छ ।
मुगुवासीले अनुदानको ९ रुपैयाँ प्रति केजी पर्ने नुन खान नपाएको पाँच छ वर्ष नै भइसक्यो । अहिले बजारमा पाइने नुन खान प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्म तिर्नु पर्ने गुनासो स्थानीय गर्छन् ।
नुनको पिरलो यतिमै सकिदैन । छायाँनाथ रारा नगरपालिकाबाट ५ केजी नुन लिन सदरमुकाम गमगढी आवतजावत गर्दा २÷३ दिन नै लाग्छ । गाडी भाडा र खान खर्चमा मात्रै १५ सयदेखि २ हजारसम्म खर्च हुने गरेको छ ।
यति परिश्रम गर्दा बल्ल ५ के.जी नुन पाईन्छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन बसेर लिएको ५ केजी नुन मान्छेदेखि पशु चौपायासम्मलाई पु¥याउुन पर्छ ।
नुनको हाहाकार मच्चिरहँदा तत्काललाई पुग्नेगरी केही नुन गोदाममा रहेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी बताउँछन् । केही महिना भित्रै पर्याप्त नुन भित्राउने गरी पहल भइरहेको पनि खाद्यान्न व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका केसीले बताए ।
मुगु जिल्लामा नुनको अभाव नयाँ होइन, प्रत्येक वर्ष जिल्लामा नुनको अभाव हुँदै आएको छ । जिल्लामा रहेका राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगायत कर्णालीका जिल्लाहरुले नुनको अभाव भोग्दै आइरहेको बताइन्छ ।