काठमाडौं । वर्षायाममा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ । उपत्यकमा ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जम्छ ।
विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । तर, सरोकारवाला निकायले समस्या परेकै समयबाहेक अन्य समयमा समाधानका पक्षतर्फ खास ध्यान दिएको देखिदैन ।
मंगलबार रातिको अविरल वर्षासँगै बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु, बल्खु खोलालगायतमा आएको बाढीले उपत्यकाका नदी किनार छेउका बस्तीहरू जलमग्न भए । बुधवार दिनभर नदी किनारमा बस्ती भएकाहरू लेदो फल्नमा व्यस्त बने । अझ रोचक त, केही दिन अघिमात्रै पानी जहाज चलाउने दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको च्यासलस्थित एमाले पार्टी कार्यलय पनि जलमग्न बन्यो ।
काठमाडौं उपत्यकाको करिडोर क्षेत्र अर्थात नदी किनारका क्षेत्रमा सयमिटरसम्म घर बनाउन नहुने भएपनि मपदण्ड मिचेर घर बनाउँदा वर्षोनी डुवान हुने गरेको छ । त्यसमा पनि घर तथा उद्योगबाट निस्केका फोहोरमैला सिधै खोलमा फाल्ने परिपाटीले पनि जोखिम बढाएको छ । पछिल्लो समय त विभिन्न पार्क निर्माण गर्ने भन्दै खोला खुम्चाइएको छ ।
यसैगरि, जताततै ढलान, अवैज्ञानिक रुपमा भौतिक पूर्वाधार निर्माण, व्यक्तिगत संरचना बनाउदा समेत पानी पुनःभरण एवम् निकासतर्फ वेवास्ता गर्ने प्रवृतिले पनि काठमाडौं उपत्यका वर्षायाममा जलमग्न हुनेक्रम बढेको छ । नदी अतिक्रमण र अव्यवस्थित संरचना रहिरहेसम्म डुबानको समस्या समाधान हुने देखिन्न ।
काठमाडौंका खेति योग्य जमिना तीव्र शहरीकरण हुँदा डुवान पनि तिब्र बन्दै गएको छ । वर्ष हुनासाथ लैन्चौर, नयाँबानेश्वर, सिंहदरबार, पुलतिसडकलगायतका मुख्यसडक र टेकु, थापाथली, यूएन पार्क, शंखकुल, च्यासललगायतका सहायक सडकहरू जलमग्न हुन्छन् । ढलान र कंक्रिटले पानी सोस्ने जमिन ढाकिएको छ । सरकारको स्वामित्वमा बनेका संरचनाहरू पनि पानी निकास र पुनःभरणमैत्री छैनन् । यि र यस्तै कारण डुबानमा पर्छ काठमाडौं ।
ग्रामिण क्षेत्रमा हुने डुबान र शहरी क्षेत्रमा हुने डुबानका कारणहरु फरक फरक हुने गर्छन् । त्यसैले यसबारे सरकारका सम्बन्धित सम्पूर्ण संयन्त्रले सुष्म अध्ययन र गहन विश्लेषणसहित एकीकृत योजना बनाई प्रभाकारी कार्यान्वयनतर्फ ध्यान दिन आवश्यक छ ।