News 24 Television
इजरायलको निसानामा हमास प्रमुख

काठमाडौं । हमासका प्रमुख नेता इस्माइल हनिये इरानको राजधानी तेहरानमा मारिएका छन् । हानियाको हत्या भएपछि मध्यपूर्व अशान्त बन्ने खतरा बढेको छ, भने इरानले उनको सहादत खेर जान नदिने बताइसकेको छ । इरानी राष्ट्रपतिको सपथमा सहभागी भएका हमासका प्रमुख नेताको हत्याले विश्व नै तरङ्गित बनेको छ । यस घटनाक्रमका बीच अबको सम्भावित परिदृष्य कस्तो हुन सक्छ त ? 

हमासको प्रमुख नेता इस्माइल हानियाको हत्यालाई लिएर हमास समूह क्रुद्ध बनेको छ, भने इरानले जवाफ फर्काउने चेतावनी दिदै अनुसन्धान चलिरहेको बताएको छ । इरानमा हत्या भएका इस्माइल हमासका प्रमुख नेतामात्रै नभएर प्यालेस्टाइनका प्रधानमन्त्री समेत भइसकेका व्यक्ति हुन् । 

इस्माइलको अर्को नाम अबु अल–अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको बताइन्छ । उनी सन् २००६ मा प्यालेस्टाइनका प्रधानमन्त्री नियुक्त भएका थिए भने, उनलाई सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो । 

६२ वर्षीया इस्माइलको हत्या इजरायलले गरेको आरोप हमास समूहको छ । इजराइलले गरेको हवाई कारबाहीमा उनको निधन भएको भन्दै इरान र हमास समूहा नेताहरुले आरोप लगाएपनि इजरायलले औपचारिक प्रतिक्रिया दिएको छैन् । इस्माइलको हत्या गाइडेड क्षेप्यास्त्र प्रहारबाट भएको बताइएको छ । 

स्थानीय समयअनुसार बिहानको २ बजे उनी बसेको भवनमा उक्त हमता भएको समेत दाबी गरिएको छ । इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले हानियाको हत्याको प्रतिशोध लिनु तेहरानको कर्तव्य भएको भन्दै इजरेले दण्ड पाउने काम गरेको बताएका छन् । यता, इरान, टर्की, रुस र कतारले उनको हत्यामा विरोध गरेका छन् । 

इजरायलले इस्माइलको हत्याबारे औपचारिक प्रतिक्रिया नदिएपनि इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले भने ’विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका हो’ भनेर प्रतिक्रिया दिएका छन् । तर, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफ्ना मन्त्रीहरूलाई हानियाको हत्याबारे नबोल्न दिएको निर्देशन विपरित मन्त्री इलियाहुको प्रतिक्रिया आएको हो । 

अक्टोबर ७, २०२३ मा हमासले अप्रत्यासित आक्रमण गर्दा १२०० इसराइलीको ज्यान गएको थियो भने केहि अहिलेसम्म वेपत्ता छन् । यसमा नेपालका १० जनाको निधन भएको छ भने विपिन जोशी अहिलेसम्म वेपत्ता छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update