कास्की । कास्कीमा डेङ्गी संक्रमण ह्वात्तै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमण पछिल्लो समय जिल्लाका १३४ जनामा पुष्टि समेत भैसकेको छ । दिनानुदिन संक्रमितको संख्यामा वृद्धि हुदै गएपछि अहिले कास्कीका अस्पतालमा डेङ्गीका बिरामीको चाप बढ्दो छ ।
कास्कीमा डेङ्गीका बिरामी संङ्ख्या दिनप्रतिदिन बढेका छन् । अघिल्ला महिनामा थोरै व्यक्तिमा मात्रै देखिएको डेङ्गी संक्रमण पछिल्लो महिना ह्वात्तै बढेको छ ।
स्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार असार अगाडिसम्म महिनामा ८–१० जनामा डेङ्गी संक्रमण देखिएपनि पछिल्लो दुई महिनामा १३४ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक कास्कीमा रहेका अस्पतालले अनलाइन रेकर्ड सिस्टममा चढाएको डाटाको मात्र हो, अस्पतालले तत्कालै रेकर्ड सिस्टममा नहाल्ने हुँदा कास्कीमा यो भन्दा बढी डेङ्गीको बिरामी रहेका स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।
डेङ्गी रोग मानिसबाट मानिसमा सोझै सर्दैन र जुनसुकै लामखुट्टेको टोकाइबाट पनि सर्दैन, यो एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेङ्गीबाट बच्ने उपाए भनेकै लामखुट्टेको टोकाईबाट बच्नु र लामखुट्टेको वृद्धि विकास हुने स्थान नष्ट गर्नु रहेको चिकित्सकहरु बताउँछन् । कास्कीमा डेंगीले अघिल्ला दुई वर्ष निकै भयावह रुप लिएको थियो ।
यस वर्ष पनि भयावह रुप नलेला भन्न नसकिने हुँदा ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्दै यसको न्यूनीकरण गर्न केही अगाडिबाटै स्वास्थ्य कार्यालय कास्कीले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
कुनैपनि रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो । दिनानुदिन डेङ्गी संक्रमितको संख्यामा वृद्धि हुनु भनेको सचेतनाको कमी र सजगता नअपनाउनु हो । सकेसम्म लामखुट्टेको टोकाईबाट बच्नु पर्ने र पानी जम्ने स्थानलाई नष्ट गरि लामखुट्टेको वृद्धि रोक्नु पर्ने चिकित्सकहरु सुझाउँछन् ।
लामखुट्टेले टोकेर डेङ्गीको लक्षण देखिसकेपछिको ७ देखि १० दिनको समयलाई निकै खतरा मानिने र यस्तोमा बिरामीको मृत्यु नै हुन सक्ने भएकाले तुरुन्तै अस्पताल पुग्नुपर्ने चिकित्सकको सुझाव छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने डेङ्गी संक्रमण संख्या र संक्रमित देशको संख्या अपत्यारिलो तरिकाले उच्च रुपमा वृद्धि हुँदै गइरहेको छ ।
नेपालमा विशेषगरि साउन, भदौ र असोज महिना उच्च जोखिमको महिना हो, यो समयमा संक्रमण छिटो फैलिने तथा अवस्था जटिल बन्दै मृत्युको कारक बन्न सक्छ । अझ महामारीको रुपमा फैलिदै गएको डेङ्गी विरुद्धको खोप अहिलेसम्म उपलब्ध हुन सकेको छैन । तसर्थ बेलैमा यस विषयमा सजगता अपनाउन सकिएन भने फैलिदै गएको डेङ्गीले महामारीको रुप नलेला भन्न सकिदैन ।