News 24 Television
बक्यौता रकम नपाउँदा दुध किसानको विजोग

काठमाडौं । नेपाल सरकार मातहतको दुग्ध विकास सस्थान डिडीसीबाटै दुग्ध किसान प्रडाडित भएको लामो समय भयो । किसानले दिनरात मेहनत गरेको उत्पादन गरेको दुधको एक अर्ब ५८ करोड  रुपैयाँ डिडिसीबाट भुक्तानी पाउन बाँकी छ । 

सरकारीसहित निजी क्षेत्रका डेरी तथा उद्योगहरुबाट करिब ५ अर्बको हाराहारीमा किसानले दुधको भुक्तानी पाउन बाँकी छ । तर किसानले भोगिरहेको यस्तो विकरात समस्यामा सरकार भने मुकदर्शक मात्रै बनिरहेको छ । 

सरकार तथा निजी क्षेत्रका उद्योगहरुबाट किसानले दुध बिक्री गरेको करिब ५ अर्ब रुपैयाँ भुक्तानी पाउँन बाँकी छ । निजिले त अनेक बहाना देखाएर किसानलाई समस्यामा पार, सरकार स्वामित्वको दुग्ध विकास संस्थान अर्थात डिडिसिले पनि किसानलाई झुलाएको छ ।

डिडीसीले मात्रै किसानलाई १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । डिडिसिबाट किसानले गत कार्तिक महिनादेखि दुधको भुक्तानी पाएका छैनन् भने निजि उद्योगबाट त करीब एक बर्षदेखिकै किसानले भुक्तानी पाउन बाँकि छ । अझै तिनै किसानले सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउन सकेका छैनन् । 

यसले प्रष्ट हुन्छ दिनरात नभनि दुख गरेर नेतादेखि सामान्य नागरिकसम्मलाई दुध खुुवाउने किसान कति मारमा छन् भनेर । 

दुधको पैसा नपाएपछि किसानले विभिन्न चरणमा आन्दोलन समेत गरिसकेका छन् ।  किसानको आन्दोलनपछि फागुन १९ गते तत्कालीन कृषिमन्त्री बेदुराम भुसालको उपस्थितिमा मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, किसान र व्यवसायीबीच चैत २१ भित्र किसानहरूको सम्पूर्ण बक्यौता भुक्तानी गर्ने लिखित सहमति भएको थियो । 

सहमति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले वार्षिक पाँच प्रतिशत ब्याजदरमा डिडिसीलाई ३० करोड उपलब्ध गराएको थियो । डिडिसीले सरकारबाट प्राप्त गरेको ३० करोड र आन्तरिक स्रोतबाट समेत गरी ४० करोड रुपैयाँ किसानको बक्यौता भुक्तानी गरेको थियो । तर, चैत अन्तिम सातासम्म डिडिसीले किसानलाई बाँकी एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी गर्न नसक्दा किसानको भुक्तानी रकम झनझन थपिदै गएको छ । 

बक्यौता भुक्तानी गर्न रकम नभएको भन्दै डिडिसी पन्छिने गरेको छ । किसानबाट संकलित दुधबाटब बनेका दुग्धजन्य पदार्थ बिक्रि नहुदाँ यो समस्या भएको डिडिसीका महाप्रबन्धक बताउँछन् । 

किसानहरुलाई निजि डेरीहरुले साढे तिन अर्ब रकम भुक्तानी गर्न बाँकी छ । उनीहरुले तयार गरेको विभिन्न दुग्धजन्य पदार्थ पनि बिक्री नभएपछि बक्यौता तिर्न नसकेको निजि व्यवसायी बताउँछन् । 

नेपालमा विक्रि नभएको दुग्धजन्य पदार्थ सरकारले बंगलादेश, भारत र श्रीलंका लगायतका सार्क देहरुमा समते निर्यात गर्नु पर्ने निजी व्यवसायीको माग छ । सरकारले अन्य सामान निर्यातमा जस्तै दुग्धजन्य पदार्थको निर्यातमा पनि अनुादान दिनु पर्ने व्यवसायीको माग छ । 

व्यवसायीले भनेजस्तै नेपालमा दुध र दुग्ध जन्य पदार्थको खपत कम हुँदै जाँदा देश भित्र उत्पादन भएको दुधलाई विदेशमा निर्यात कसरी गर्ने भन्ने सरकारी नीति छैन । गाई बस्तुमा लाग्ने खोरेत रोगले गर्दा नेपाली दुध र त्यसबाट तयार पारिएका दुग्धजन्य पदार्थ  अमेरीका, चीन सहित युरोपीयन मूलुकमा प्रतिबन्ध छ । त्यसैले सरकार कसरी किसानहरुको संरक्षण गर्ने भन्ने बिषयमा गम्भिर बन्न जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update