News 24 Television
ईर्खुवा हाइड्रो पावरका २ जना कामदार बगायो

भोजपुर । अविरल वर्षाका काराण ईर्खुवा खोलामा आएको बाढीले ईर्खुवा हाइड्रो पावरका २ जना कामदार  बगाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ४ गोथे बजारस्थित रहेको इर्खुवा खोलामा राती साढे एक बजे आएको बाढीले सुतिरहेको अवस्थामा २ जना कामदार बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठले बताए ।

हाइड्रो निर्माणमा खटिएका कामदार बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको छ ।

उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले घाइते थारुको स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिम घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सातजनाको टोली खोजीको लागि खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update