काठमाडौं । नवजात शिशुका लागि आमाको दुध अमृत सरह हुन्छ । तर, यो विषयमा शिक्षित आमाहरुले नै शिशुलाई स्तनपान गराउदैनन् । कतिपय महिलामा स्तनपानका कारण शरिर विग्रने गलत धारणाका कारण पनि शिशुलाई स्तनपान गराउँन चाहदैनन् ।
साथै शिक्षित महिला कामकाजमा जाने भएका कारणले पनि स्तनपानलाई महत्व दिन नसकिएको देखिन्छ । आमाको दुघ सेवन गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भनेर कानुनमा नै तोकिए पनि अहिले पनि नवाजात शिशु आमाको दुधबाट बञ्चित बन्ने गरेका छन् ।
शिशु जन्मेको केही दिनसम्म आउने बाक्लो, पहेंलो पोषणयुक्त बिगौती दूध शिशुको शरीरिक तथा मानशिक बिकासकालाई महत्वपूर्ण हुन्छ । यसले शिशुलाई रोगसंग लड्न प्रतिरोधात्मक क्षमता प्रदान गर्ने गर्दछ ।
जसका कारण यसले शिशु मृत्युदरमा समेत कमी ल्याउन मदत गर्दछ । तर शिशुका लागि आमाको दुधको महत्वको बारेमा जानकारी नभएका पढ्लेख नगरेका वा कम पढेका आमाहरुको तुलनमा पढेलेखेका महिलाहरुले नै स्तनपान कम गराउले तथ्यांकले देखाउँछ । पछिल्लो समय आमाहरु जति शिक्षित बन्दै गए उतिनै स्तनपानमा उदासिनता देखाएको देखिन्छ ।
सरकारी तथ्यांक नेपालमा स्तनपान गराउनेहरुको संख्या ५६ प्रतिशत रहेको छ । साथै नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्यांक अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ ।
साथै शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत छ । पूर्ण स्तनपान गराउने आमाहरुमा सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशतमा देखिन्छ । पूर्ण स्तनपानको दरलाई केलाउँदा माध्यमिक तह अध्ययन गरेका आमाहरु भन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिन्छ ।
साथै न्यून आय भएकामा ६४ प्रतिशत र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका छन् । साथै फर्मुला दुध सेवन गराउनेको संख्या सबै भन्दा बढि बागमती प्रदेशमा ४३ प्रतिशत छ । यसैगरी सबै भन्दा कम कर्णाली प्रदेशमा ११ प्रतिशत मात्र छ । नवजात शिशुलाई आमाको दुध सेवनमा प्रोत्साहन गर्न कानूनले नै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणमा रोक समेत लगाएको छ ।
पूर्ण स्तनपानले बालबालिकालाई श्वासप्रवास सम्बन्धि रोग करिब १५ प्रतिशतले कम हुने तथा झाडापखला ५ गुणा, शिशुमा सुगरको जोखिम ४० प्रतिशतले कम हुने विभिन्न अध्ययले देखाएको छ । साथै कानमा हुने संक्रमण ५० प्रतिशत देखि रगत क्यानसरको जोमिलाई कम गर्न मदत गर्छ ।
साथै पूर्ण स्तनपान गराउने आमाहरुमा पाठेघर तथा स्तन क्यान्सरको जोखिम कम हुनुका साथै हड्डी कमजोर हुने रोगबाट समेत जोगाउँछ । स्तनपान आमा र शिशुका लागि बहुपक्षिय लाभहरु रहेका छन् । तर आधुनिक तथा शिक्षित आमाबाटै स्तनपानमा तदारुकता नदेखाउदा नवजात शिशुले आफ्नो नैसर्गिक अधिकार गुमाउनु साथै स्वस्थ्य भएर बाच्ने अधिकारबाट समेत बञ्चित हुनुपरेको छ ।