झापा । केहीवर्ष अघिसम्म भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा अहिले सुनसान छ । भारत, बंगलादेश र भुटानसँग यो नाका भएर हुने व्यपार केहीवर्ष यता ओरालो लाग्दा अहिले सुनसान नै भएको हो । मेची भन्सार कार्यालयमा काँकरभिट्टा कन्टेनरसहित अन्य मालवाहक सवारी साधनको संख्या समेत अहिले निक्कै पातलो छ ।
पहिला पहिला मेची भन्सार परिसरमा अनगिन्ती मालवाहक सवारी साधन पार्किङ हुन्थे अहिले फाटट्फूटट् मात्र देखिन्छन् । भन्सार सुनसान र नाका सुस्ताउँदा यसको प्रत्यक्ष असर कार्यालयको राजस्व संकलनमा परेको छ ।
कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्यःभन्सारको रुपमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टा पछिल्लो समयमा राजस्व असुलीमा पछि परेको छ । गत आर्थिक वर्ष २०८०\०८१ मा कार्यालयको राजस्व असुली ७८ दशमलव ४० प्रतिशतमात्र छ ।
गत आर्थिक वर्षमा मात्र नभइ विगतका आर्थिक वर्षदेखि लगातार भन्सार कार्यालयले वार्षिक लक्ष्य हासिल गर्न नसकेको कार्यालयको अभिलेखले देखाएको छ । भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको मेची भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल हुँदा देशकै अर्थतन्त्रमा समेत असर पुग्ने अर्थविदहरुको भनाई छ । त्यस्तै, वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टामा कोरोना महामारीपछिका वर्षमा आयातनिर्यात निरन्तर सुस्ताउँदै गइरहेको भन्सार एजेण्डहरु बताउँछन् ।
पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको यो नाका भारत, भुटान बंगालदेशसँग व्यपार हुने गरेको छ ।
लक्ष्य पुरा गर्न अनेक उपायहरु प्रयास अवलम्बन गरे पनि लक्ष्य पूरा गर्न नसकिएको भन्सार अधिकारीहरुको भनाई छ । कार्यालयले आर्थिक वर्ष २०७८\७९ मा रु १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७\७८ मा रु १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको थियो ।
त्यस्तै, आव २०७८\७९ को तुलनामा आव २०७९\८० मा रु तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८०\०८१ मा भन्सार विभागले मेची भन्सार कार्यालयलाई १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ वार्षिक लक्ष्य दिएको भएपनि १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँमात्र राजस्व संकलन भएको मेचीभन्सार कार्यालयले जनाएको छ । यसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको हो ।
काँकरभिट्टा नाका हुँदै पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयलमोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरु लगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
त्यस्तै, मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी, अदुवा, सुठो, सुंगुर, प्लाउड, क्राफ्ट पेपर लगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।