काठमाडौं । कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री चयन गर्नका कांग्रेसभित्र सकस देखिएको छ । सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरु डा.शेखर कोइराला, कृष्ण सिटौंला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको गुटगत राजनीतिका कारण दुई प्रदेशमा मन्त्री चयनमा सकस भएको हो । प्रदेशमा देखिएको किचलोको असर अन्य प्रदेशहुँद केन्द्रसम्मै पुग्ने देखिएको छ ।
केही समय प्रतिपक्ष भूमिका निर्वाह गरेपछि पुन सत्तामा आएको नेपाली कांग्रेसभित्रको गुटगत समस्या फेरि एकपटक छताछुल्ल भएको छ । कोशी प्रदेशमा कांग्रेसभित्रको गुट र उपगुट सलबलाउँदा अहिलेसम्म पनि मन्त्री बन्नेहरुको नाममा टुंगो लाग्न सकेको छैन ।
कोशीमा सभापति देउवा, डा. शेखर कोइराला र कृष्ण सिटौंला गुटबीचको प्रतिष्पर्धा चर्को छ । यही किचलोमा महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस प्रदेश सभापति उद्धव थापा, गुरु घिमिरे समेतको उपगुट पनि सक्रिय बनिरहेको छ । उता कर्णली प्रदेशमा उपसभापति पुर्णबहादुर खड्का र जीवनबहादुर शाहिले संस्थापन र इतर पक्षको नेतृत्व गर्दै गुट उपगुट निर्माण गरेका छन् ।
पार्टीभित्रको गुटको आन्तरिक खिचातानीकै कारण एमाले नेतृत्वमा रहेका यी दुई प्रदेशमा कांग्रेसले कसलाई मन्त्री बनाउने भन्ने निष्कर्ष गर्न सकिरहेको छैन । दुवै प्रदेशका सांसदहरुले पार्टी सभापति देउवामाथि दबाब बढाइरहेका छन् । तर जति गुट उपगुट सक्रिय रहेपनि अन्तिममा देउवाले रोजेको पात्र नै दुई प्रदेशमा मन्त्री बन्ने राजनीनिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।
संस्थापन इतरका नेताहरु कांग्रेस देउवा र उनको पत्नी आरजुको प्राईभेट कम्पनी जस्तै बनेको बताउँछन् । देउवा र आरजुकै कारण कोशी र कर्णाली सरकारमा कांग्रेस सहभागि हुन नसकेको आरोप संस्थापन इतरका नेताहरुको छ । यही कारण गण्डकी सरकारमा एमालेलाई सहभागी नभएको दोष पनि उनीहरुले सभापति देउवामाथि थोपरेका छन् । कांग्रेसभित्रको कलहलाई सत्ता साझेदार एमालेले भने नजिकबाट नियाली रहेको छ । कांग्रेसभित्रको विवाद दुई तीनदित्रै समाधान एमालेको विश्वास छ ।
निष्क्रिय महामन्त्रीद्वय
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र नयाँ पुस्ताको धारलाई समात्न सकेका छैनन् । संसदमा अन्य दलविरुद्ध आगो ओकल्न खोज्ने थापा र शर्मा पार्टीभित्र भने निम्छरो देखिन्छन् ।
शेखर कोइराला गुटबाट सभापति देउवालाई टक्कर दिन खोजिरहेका महामन्त्री थापा पछिल्लो समय भने चुप छन् । कांग्रेसमा विगतमा महामन्त्रीले नै पार्टी चलाएको इतिहास छ । तर अहिलेका महामन्त्रीद्वय पार्टीबाहिर बाघ र पार्टिभित्र खोइ के भने जस्तो अवस्थामा छन् । यसलाई विश्लेषक पुरञ्जन आचार्यले महामन्त्रीद्वयकै कमजोरीको रुपमा ब्याख्या गरे ।
पार्टी भित्र गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्दै गर्दा कांग्रेसमा नयाँ पूस्ता र युवाहरुको प्रतिनिधित्व हुने धेरैको अपेक्षा थियो ।
अझै दुई महामन्त्री सहित प्रदिप पौडेल पनि प्रतिनिधिसभा छिर्दा कांग्रेसमा परिवर्तनको थुप्रै सम्भावना कार्यकर्ताहरुले देखेका थिए ।
जनताको मुद्दा कडारुपमा मुखरित हुने आम अपेक्षा थियो । तर यस्ता विश्वास र अपेक्षा पुरा गर्नमा दुवै महामन्त्री चुकेका छन् भने पार्टीभित्र समेत उनीहरु भुत्ते बन्दै गइरहेको देखिन्छ ।