News 24 Television
पहिरोको चपेटामा भारतको केरला 

काठमाडौं । मनसुन सुरु भएसँगै बाढीपहिरो जस्ता प्राकृतिक प्रकोले दैनिकजसो मानिसहरु ज्यान गुमाउँदै आएका छन् । नेपालमै पनि यसै मनसुनमा सयौंले ज्यान गुमाइसकेका छन् । 

मंगलबार दक्षिण भारतको केरलामा पनि पहिरोले बितण्डा मच्चाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । पहिरोमा परी दर्जनौ मानिस फसेको आशंका गरिएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मंगलवार सबेरै पहिरो गएको थियो । 

प्रभावित स्थानमा खोजी तथा उद्धार अभियान चलिरहेको छ । तर ठूलो वर्षा र ठाउँ ठाउँमा पुल भत्किएका कारण उद्धारकार्य नराम्रोसँग प्रभावित भएको छ । केरलाकी स्वास्थ्यमन्त्री वीणा जजले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेहरुको उपचार भइरहेको र क्षतिको विविरण आउन अझै केही समय लाग्ने बताएकी छन् । पहिरो प्रभावित क्षेत्रबाट १ सय भन्दा बढीको उद्दार भइसकेको छ । स्थानीय अधिकारीका अनुसार वायनाडमा मात्रै ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । छिमेकी मलपुरम जिल्लाको चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए ।

पश्चिम घाट पर्वत शृङ्खलामा पर्ने पहाडी जिल्ला वायनाडमा अक्सर मनसुनमा पहिरो गइरहन्छ । उद्दारमा स्थानीयहरूले पनि सघाइरहेका छन् । वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । विपतपछि १४ मध्ये १० जिल्लामा शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । 

वायनाडको विपद्बाट प्रभावित स्थानबाट करिब १० किलोमिटर टाढा पुथुमालामा सन् २०१९ मा पहिरोका कारण १७ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले केरलाका मुख्यमन्त्रीसँग कुराकानी गरेको र संघीय सरकारले उद्धार प्रयासमा सहयोग गर्नेमा आश्वस्त तुल्याएको बताएका छन् ।

उनले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा पनि गरेका छन् । 

केरलाको विपद् प्रबन्धन विभागले वायनाड, कोझीकोड, मल्लापुरम र कन्नूरमा ‘रेड अलर्ट’ जारी गरेको छ । मौसम विभागले उक्त इलाकामा २४ घण्टामा २०४ एमएमको वर्षा भएको आंकलन गरेको छ । अन्य इलाकामा ’अरेन्ज’ र ’येलो’ चेतावनी पनि जारी गरिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update