News 24 Television
नेपाली राष्ट्रिय बहस टोली  विश्व वरियताको १०औं स्थानमा

बेलग्रेड, सर्बिया । नेपाली राष्ट्रिय बहस टोली सर्बियामा बिहिबार सम्पन्न वर्ल्ड स्कुल्स डिबेट च्याम्पियनशिप (डब्लुएसडीसी) मा विश्वकै पन्ध्रौँ उत्कृष्ट कायम भएको छ । साथै अंग्रेजी दोस्रो भाषाका रुपमा प्रयोगमा रहेका देशहरूको वरियता सूचीमा विश्व वरियतामा १०औं स्थानमा पर्न सफल भएको छ ।

यसअघि पहिलोपटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्दै टोलीले राउण्ड अफ १६ मा पुगेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएको थियो । ३६ औँ संस्करणको विश्व विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको उक्त चरणमा मंगलबार कतारसँगको पराजयसँगै नेपाली राष्ट्रिय टोलीले प्रतियोगितामा आफ्नो ऐतिहासिक दौड समाप्त गरेको थियो । 

यस च्याम्पियनशिप अघि नेपाल विश्व वरीयतामा ४०औं स्थानमा रहेको थियो । यस संस्करणमा ६८ देश सहभागी रहेका थिए । समूह चरणमा आठमध्ये पाँच राउण्डमा विजेता हुँदा राष्ट्रिय टोलीले कुल १३ मत प्राप्त गर्न सफल भएको थियो । उक्त चरणमा युगान्डा, अर्जेन्टिना, स्लोभाकिया, पोल्याण्ड र जापानलाई हराएको नेपाल नेदरल्यान्ड्स, सर्बिया र इङ्ल्यान्डसँग पराजित भएको थियो । उत्कृष्ट ३२ को चरणमा नेपालले युएईको बलियो मानिँदै आएको टोलीलाई हराएको थियो ।

विश्वजित विष्ट, साधवी महत, संज्ञा पाण्डे र सुजल खड्का समावेश राष्ट्रिय टोलीलाई राष्ट्रिय टोलीका  पूर्व सदस्य तथा डीएनएन बोर्ड सदस्य प्रज्ञान कुमार आचार्यले प्रशिक्षित गरेका थिए । टोलीको छनौट, सहभागिता तथा प्रशिक्षण कार्य नेपालको राष्ट्रिय बहस संस्था डिबेट नेटवर्क नेपाल (DNN)ले समन्वय गरेको थियो । हिमालयन क्यापिटल प्रा.लि. तथा लुमिएर एजुकेशनले टोलीलाई प्रायोजन गरेका थिए ।

सन् २०१० मा कतारमा भएको डब्लुएसडीसीमा नेपाल पहिलो पटक सहभागी भएको थियो । नेपालले त्यसपछि २०११ मा स्कटल्याण्ड र त्यसपछि २०१५ मा सिंगापुरमा सहभागिता जनाएको थियो । डिबेट नेटवर्क नेपालले सन् २०१६ मा जर्मनीमा भएको डब्लुएसडीसीबाट नेपाली राष्ट्रिय टोलीको सहभागितालाई समन्वय तथा सहजीकरण गर्दै आएको छ । यसपालिको प्रतियोगितामा नेपालको सहभागिता १२ औं सहभागिता हो र डीएनएन द्वारा व्यवस्थापन तथा सहजीकरण गरिएको नवौं सहभागिता हो ।

प्रतियोगिता पक्ष विपक्ष टोलीमा तीन तीन जना वक्ता रहने डब्लुएसडीसी ढाँचामा आधारित छ । प्रत्येक बहस एक घण्टा लामो हुने गर्दछ जस अवधीमा पक्षबाट तीन तथा विपक्षबाट तीन गरी कुल छ वटा मूख्य तथा थप दुई जवाफी वक्तव्यहरू समावेश रहन्छन । बहसमा विपक्षीले मूख्य वक्तव्यकै बीच वक्तालाई प्रतिप्रश्न गर्न तथा प्रष्टीकरण माग गर्न सक्दछन् जसलाई सम्बन्धित वक्ताले सम्बोधन गर्नुपर्ने हुन्छ ।

राउण्ड अफ १६ को लागि प्रस्ताव (शीर्षक) “This house regrets the narrative that money cannot buy happiness” (यो सदन पैसाले खुसी किन्न सक्दैन भन्ने भाष्य प्रति पश्चताप व्यक्त गर्दछ) थियो। ३ जना निर्णायक मध्ये मुख्य निर्णायकले नेपालको पक्षमा मतदान गरे पनि बहसको विपक्षी टोली, नेपाललाई उक्त मत क्वार्टरफाइनलमा पुग्न पर्याप्त भएन ।

डिबेट नेपाल नेटवर्कले नेपाली राष्ट्रिय टोलीको  लागि सर्बिया प्रस्थान गर्नु अघि विदाई समारोह आयोजना गरेको थियो । सो अवसरमा टोलीले सन् २०२३ का राष्ट्रिय टोली विरुद्ध मैत्रीपूर्ण बहस प्रदर्शन गरेको थियो । उक्त समारोहमा नेपाली बहस समूदायका सदस्यहरू, अभिभावकहरू तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो । बहस पश्चात् गत वर्षको राष्ट्रिय टोलीका सदस्य अलिशा घिमिरे, अभिनव कुमाल र सुयोग वरदान आचार्यले राष्ट्रिय टोलीलाई जर्सी हस्तान्तरण  गरी विदाई गरेका थिए ।

डिबेट नेपाल नेटवर्क आगामी वर्षको पानामा विश्व प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय टोलीको छनौट प्रक्रिया प्रारम्भ गर्न यस अगष्टमा महाकुम्भको ११ औं संस्करण - राष्ट्रिय विद्यालय वादविवाद प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । कक्षा १२ मा अध्ययनरत वा भर्खरै कक्षा १२ अध्ययन पूरा गरेका विद्यार्थीहरू उक्त प्रतियोगितामा सहभागिताका लागि आवेदन गर्न सक्नेछन् । प्रतियोगिताबाट शीर्ष ५० वक्ताहरूले राष्ट्रिय टोलीमा समावेश हुनका लागि आवेदन दिन योग्य हुनेछन् ।

बिहीवार (साउन १० गते) बेलग्रेडमा सम्पन्न डब्लुएसडीसी प्रतियोगिताको फाईनलमा स्कटल्याण्डले बुल्गेरियालाई पराजित गरी प्रतियोगिताको उपाधि हाँसिल गर्न सफल भएको हाे ।

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update