News 24 Television
स्कुलको आगनमै पहिरोको वितण्डा, विद्यार्थी पढ्न आउनै छोडे !

बाजुरा । मुलुकभर बाढी पहिरोको प्रभावले जनधनको क्षति  भइरहेका समय शिक्षा क्षेत्रसमेत उत्तिकै प्रभावित छ । 

बाजुराको लक्ष्मी माध्यमिक विद्यालय समेत हरेक वर्ष जस्तै यस वर्ष पनि वर्षायाममा प्रभावित छ । दुई सातादेखि लगातारको वर्षा पश्चातको पहिरोका कारण विद्यालयको पठनपाठननै ठप्प छ । 

असार तेस्रो सातादेखि लगातारको वर्षा पछि बाजुराको बडीमालिका नगरपालिका ७ जिल्ली क्षेत्रमा पहिरो जानेक्रम जारी छ । 

यसै क्षेत्रमा रहेको छ, लक्ष्मी माध्यमिक विद्यालय । यस विद्यालयलाई वरिपरिबाट पहिरोले घेरेको छ ।  विद्यालयका भवन र फिल्ड पहिरोले फुटेर चर्कीएको छ । विद्यालय वरिपरि पहिरो बग्न थालेपछि पहिरोले विद्यालय कति खेर बगाएर लैजान्छ भन्ने डरले विद्यार्थीहरू विद्यालयमा आउन छोडेका छन्  ।

यस विद्यालयमा २ सय जना विद्यार्थीहरू भर्ना भएको भएपनि अहिले पहिरोको डरले २५ जना भन्दा बढी विद्यार्थी विद्यालय आउदैनन् । विद्यालयको पठनपाठन औपचारिक रुपमा बन्द छैन । तर, विद्यार्थी नै पहिरोको डरले विद्यालयमा नआएपछि पठनपाठन पूर्णरुपमै प्रभावित बनेको हो । 

बडिमालिका नगरपालिकाको अन्य विद्यालयमा निरन्तर पढाइ सञ्चालन भइरहेको छ । तर, लक्ष्मी माध्यमिक पहिरोको पुर्ण जोखिममा भएको हुनाले आफुहरू नियमित विद्यालय आउन नसकेको विद्यार्थीहरु बताउछन् । 

बर्खायाममा लगातार वर्षा भएपछि विद्यालयको मुल गेटसम्म पहिरो पुगिसकेको  छ  । लक्ष्मी माध्यमिक विद्यालयमा तिन सय परिवारका दुइ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दछन् । पहिरोको कारण एक साता देखि विद्यालय बन्द हुदा समेत स्थानीय सरकार र अन्य सरोकारवालाले अन्य विकल्पतर्फ ध्यान दिएका छैनन् ।  

पहिरोले पठनपाठन प्रभावित भएपछि समस्या समाधानको प्रयासका लागि छलफल शुरु भएको स्थानीय सरकारको भनाई  छ । बैकल्पिक उपाय खोज्ने गरि एक दुई दिनमै नगरपालिकाको टोलि विद्यालयमा पुग्ने बताइएको छ । 

पहिरोको उच्च जोखिममा रहेको यस विद्यालयमा यो वर्ष मात्रै यस्तो समस्या परेको होइन । हरेक वर्ष पहिरोकै कारण पठनपाठन प्रभावित हुन्छ । विद्यार्थीहरु सधैं जोखिममा रहेका हुन्छन् । तर पनि यसको दीर्घकालीन समाधानका लागि प्रभाकारी प्रयास भएका छैनन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update