News 24 Television
अमेरिकी राष्ट्रपति चुनावः कमलाको उम्मेदवारीको चर्चा विश्वभर 

काठमाडौं । अमेरिकामा हुन लागेको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस उम्मेदवार बन्ने भएकी छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रपतिमा कमलालाई समर्थन गरेपछि पूर्वराष्ट्रपति बराक ओबामा दम्पतिले पनि कमलालाई समर्थन गर्ने भएका छन् । 

यस्तोमा अमेरिकी इतिहासमा अब कमला राष्ट्रपति बन्लिन ? कमलाको उम्मेदवारीको चर्चा विश्वभर चुलिएको छ । 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि आधिकारिकरुपमा उम्मेदवारी घोषणा गरेकी छन् । 

उनले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक उम्मेदवारी घोषणा गर्देै आफू हरेक मत कमाउन कडा मेहनत गर्ने र नोभेम्बरमा हाम्रो जित हुनेमा विश्वस्त रहेको बताएकी छन । राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेकी कमलाले आफूलाई पार्टीको समर्थन हुनेमा विश्वास व्यक्त गर्दै आएकी छन् । 

यस्तै, कमललाई राष्ट्रपतिको रुपमा अघि सार्न सहमत भएका बाइडेनले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयले नयाँ सन्देश दिने विश्वास उनको छ । 

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ । यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए । 

ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका थिए । यसै साताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई ’महान उपराष्ट्रपति’ को रुपमा सम्बोधन गर्दै अनुभवी र राष्ट्रपति पदका लागि सक्षम उम्मेदवार भएको बताएका थिए । 

यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका लागि कमला ह्यारिसभन्दा योग्य अरु नभएको बताएका थिए । भारतीय मुलकी कमलालाई रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धीका रुपमा आएसँगै अमेरिका प्रथम महिला राष्ट्रपतिलाई स्वागत गर्न आतुर भएको अड्कलबाजीहरू सुरु भएका छन् । 

उसो त अमेरिकामा सुषुप्त रुपमा रहेको रंगभेदका कारण बरु कालाजातिका नेता छान्ला, तर महिला छान्न कठिन भएको छ । विगतलाई हेर्ने हो भने पनि अमेरिकाले बाराक ओबामा छान्यो, तर हिलारी क्लिन्टन छानेन । कमला ह्यारिसका लागि यी दुवै संयोग एकै साथ उपलब्ध छन् । उनी अश्वेत पनि हुन्, अनि महिला पनि । 

तै पनि यो लडाइँमा उनी आफ्नो दलभित्र अब्बल बन्दै मैदानमा खडा भएकी छन् । यही कारण पनि अब अमेरिकी चुनाव रोचक बन्नेछ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update