काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा आइतबार भएको अन्तिम सुनुवाइपछि जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको हो ।
जोशीलाई सर्वोच्चले ६९ लाख १५ हजार रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको छ । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको फैसला दिएको थियो ।
त्यसबेला विशेषले उनलाई डेढ वर्ष कैद सजाय हुने फैसला पनि सुनाएको थियो । जोशी भ्रष्टाचारमा मुछिएको प्रकरणमा सर्वोच्चमा रहेका सबै मुद्दाको आइतबार छिनोफानो भएको हो ।
जोशी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको एउटा मुद्दामा पनि दोषी ठहर भएका छन् । आफूसँग जोडिएका मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै जोशी सर्वोच्च पुगेका थिए ।
२०६९ फागुन ६ गते सर्वोच्चमा जोशीविरुद्ध नेपाल सरकारले दर्ता गराएको निवेदनसहित उनले पनि दायर गरेको पुनरावेदन पेश भएको थियो ।