काठमाडौं । पछिल्लो एक साता यता हैजाका विरामी बढ्ने क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यस वर्ष हालसम्म देशभर ११ जनामा हैजा पुष्टि भएको छ ।
हैजा संक्रमित १० जना मध्ये एक वा दुई जनामा मात्र पनि कडा लक्षण देखिएर यसले समुदायभर फैलिने जोखिम उच्च हुन्छ । लक्षण नदेखिएका तथा कडा लक्षण नभएकाले पनि हैजा अरुलाई सर्ने भएकाले विशेष सर्तकता आवश्यक हुन्छ । छोटो समयमै प्रकोपको रुप लिनसक्ने हैजाबाट व्यक्ति र समुदायलाई कसरी जोगाउने त ?
देशभर हैजा संक्रमणको जोखिम बढ्दै गएको छ । काठमाडौं उपत्यका सहित अन्य केही जिल्लामा हैजाको संक्रमण देखा परिसकेको छ ।
आइतबार मात्रै पनि काठमाडौंको कालिमाटीमा बसोवास गर्ने एक व्यतिmमा हैजा संक्रमण भेटियो । आइतबारसम्म देशभरको तथ्यांक हेर्दा ललितपुरमा ७ जना, काठमाडौंमा एक तथा कैलालीमा ३ जना ११ जना हैजाका संक्रमित पुष्टि भइसकेका छन् ।
ललितपुरमा सातजनामा हैजा देखिएको स्थानका मानिसहरूले प्रयोग गर्ने इनारको पानीमा दिसामा पाइने एक प्रकारको कोलिफर्म कीटाणु भेटिएको थियो । यसैबाट हैजा समुदायमा पुग्यो ।
साथै काठमाडौ तथा कैलालीमा पनि खानेपानीकै स्रोतबाट हैजा संक्रमण मानिसमा पुगेको देखिन्छ । हैजा तीव्र फैलिने संक्रमण हो । त्यसैले पनि यसलाई समुदाय स्तरमा फैलिन नदिन विशेष सर्तकता आवश्यक छ ।
हैजा संक्रमणको मुख्य स्रोत पानी देखिन्छ । त्यसैले वर्षायाममा पिउँने जुन सुकै स्रोतको पानी भए पनि त्यसलाई शुद्धिकरण गरेर तथा उमालेर मात्र पानी पिउँनु नै हैजाबाट बच्ने उत्तम उपाय भएको चिकित्सक बताउँछन् ।
हैजा एक गम्भीर खालको झाडापखाला हो । कडा खालको हैजाका बिरामीको समयमा उपचार भएन भने यसले ज्यान समेत लिन सक्छ ।
सामान्य खालको हैजा लागेको अवस्थामा यसलाई जीवनजलको प्रयोग गरेर पनि उपचार गर्न सकिन्छ । तर गम्भीर खालको हैजा लागेको अवस्थामा चिकित्सको सल्लाह बमोजिम एन्टिबायोटिक औषधीको प्रयोग लगायत उपचार गर्नुपर्छ । तर रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले हैजा जस्तो संक्रामक रोगबाट जोगिन र जोगाउन पानी तताएर तथा शद्धिकरण गरेर मात्र पिउँने बानी बसाल्न चिकित्सकको सुझाव छ ।