News 24 Television
त्रिशुलीसँग हार्यो प्रविधि, उल्टै हरायो १९ केजीको चुम्बक

काठमाडौं । गत असार २८ गते विहान आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस बगायो । पहिरोसँगै अएको भेलमा परेका दुवै बस त्रिशुली नदीमा बेपत्ता छन् । ६५ जना सवार रहेकामा ३ जनाले हामफालेर ज्यान बचाए । तर बाँकी ६२ जना भने पहिरोमै बेपत्ता भए । जसमध्ये २० जनाको शव भेटिएको छ । यद्यपि ४ जनाको सनाखत भइसकेको छैन । यसअर्थमा त्रिशुलीमा खसेका ४२ यात्रु अझै बेपत्ता छन् । त्यस्तै पहिरोमा परेका दुवै बस पनि अझै फेला पर्न सकेका छैनन् । 

विहान ३ बजेतिर भारी वर्षासँगै आएको पहिरोले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरजन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्स बस बगाएको थियो । दुर्घटना भएको दिन बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य थालेका थिए । बस र यात्रुका खोजीका लागि विभिन्न उच्चतम प्रविधिको पनि प्रयोग गरियो । तर यतिका दिनसम्म दुवै बस फेला पर्न सकेनन् । 

सुरुका दिनमा त्रिशुली नदीमा लेदोसहितको बाढी आएका कारण बस र यात्रुको खोजीमा सफलता प्राप्त हुन नसकेको सशस्त्र प्रहरीको दावी थियो । त्यस्तै नदीको गहिराई र आवरणका कारण पनि खोजीका लागि प्रहयोग भएका प्रविधिहरुले सुखद नतिजा नदिएकोे बताइँदै आएको छ । तर लेदो र पानीको मात्रा कम भएको खण्डमा पनि गोताखोर टोली नदीमा गएकोे थियो । संग्लिएको पानीमा गोताखोरले ड्रोन क्यामेरा प्रयोग गरेर बस र यात्रु खोज्न सक्ने अवस्था भएपनि आशातित नतिजा आउन सकेन । 

नदीमा बेपत्ताको खोजीका लागि रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस लगायतका प्रविधि प्रयोग भएको छ । यसबाट पनि सम्भव नभएपछि भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले पनि सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गर्यो । तर उक्त टोलीले लगातार एक सातासम्म खोजी गर्दा पनि नतिजा शुन्य भएको हो । खोजीका लागि हरेक प्रविधि र विधि प्रयोग गरेपनि नभेटिएपछि सुरक्षामा खटिएका अधिकारीहरु नै आजित हुन भइसकेका छन् । उनीहरु अब खोजी कार्य रोक्ने मुडमा पुगिसकेका छन् । यद्यपि गृहमन्त्रलयबाट रोक्न आदेश दिइसकेको छैन ।

भारतीय विज्ञहरु पनि हारे 

सुरुमा नेपाली प्रविधि र जनशक्तिले नै एकसाता सम्म त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी गर्योे । तर केही शव बाहेक बस भेटिने छाँटकाँट देखिएन । त्यसपछि नै गत साउन ४ गते भारतबाट १२ जना विज्ञसहितको टोली नेपाल ल्याइयो । उनीहरुले पनि एकसातासम्म विभिन्न स्थानमा विविध प्रविधिमार्फत खोजी गरे । तर यो टोलीबाट पनि कुनै ठोस नतिजा नआएको हो । बरु बस खोजीका लागि ल्याइएको १९ केजीको चुम्बक नै नदीमा हराएको छ । 

बस खोजीका लागि भारतीय टोलीले १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएको थियो । तर शनिबार खोजीकै क्रममा १९ केजीको चुम्बक त्रिशुली मै हराएको हो । यसका साथै ‘लाइफ ब्वाई ट्युब’ पनि पानीले बगाइदिएको छ । खोजीमा कुनै प्रगति नभएपछि आइतबार भारतीय टोली स्वदेश फर्किएको छ । यसअघि नेपाली टोलीले नै विदेशी गोताखोरको टिम आएपनि तत्काल नतिजा आइहाल्नेमा विश्वस्त रहन नसकिने दावी गरेको थियो ।  

यद्यपि केही उपलब्धि भइहाल्लाकी भन्ने आशामा भारतीय गोताखोर टोली नेपाल बोलाइयो ।  तरपनि उनीहरुले आशातित नतिजा निकाल्न सकेका छैनन् । यस घटनाले यात्रुका आफन्तहरु विक्षिप्त  छन् । शव फेला नपरेका परिवारका सदस्यहरुले कुशका शव बनाएर आ–आफ्नो संस्कार अनुसार दाहसंस्कारसमेत गरेका छन् ।     

कतिपयले १३औँ दिनको तीथि पारेर काजकिरीय गरिसके । तर पनि शव भेटिने आशामा सुरक्षा प्रशासनले बेपत्ताको खोजी गरिरह्यो । यद्यपि हालसम्म बेपत्ता बस र ४० बढी यात्रुहरु फेला पर्न सकेका छैनन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update