News 24 Television
नरैनापुरमा लोभ्याउने सन्तानेश्वर, प्रकृतिक सौन्र्दयताले मत्रमुग्ध !

बाँके । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनाको सुरुवातदेखि धार्मिक पर्यटकको चहलपहल बढ्ने गर्दछ । साउन महिनामा सन्तानेश्वर मन्दिरमा विशेष पूजाआजा गर्नका लागि समेत यहाँ भीड हुने गरेको हो ।

साउनमा सन्तानेश्वरमा यसरी भीड बढ्नु पछाडीको कारण र यो क्षेत्रमा पर्यटकीय दृष्टिले कत्तिको सम्भावना बोकेको छ त ? 

बाँकेको नरैनापुरस्थित  सन्तानेश्वर महादेव मन्दिरमा साउन महिनाभर भीडभाड बढ्ने गरेको छ । धार्मिक एवम् प्राकृतिक पर्यटकीय दृष्टिले पनि यहाँ आउनेहरुको संख्या बाक्लो हुँदै गएको  हो । नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित सन्दानेश्वरमा पुग्न करिब ६ किलोमिटर जंगलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । 

जंगल त्यसमा पनि पहाडको डाँडाकाँडाको हरियो दृश्य अवलोकन गर्दै सन्तानेश्वर मन्दिर पुग्न सकिन्छ । नेपालबाट मात्रै होइन यहाँ भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् । 

विशेषगरि साउने सोमबारका दिन बाँके, बर्दिया, दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्छन् । आफ्नो मनोकामना पुरा हुने अपेक्षा सहित यहाँ पूजाआजा गर्न आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । विशेषगरि सन्तान प्राप्तिको कामनासहित यहाँ पूजाआजा गर्ने प्रचलन छ ।

पर्यटकीय दृष्टिले यो ठाउँ सम्भावना बोकेको क्षेत्र भएपनि मन्दिर दुर्गम ठाउँमा रहेको हुनाले यहाँ आउने भक्तजनहरुलाई आवश्यक पानी र ठाउँ ठाउँमा विश्राम गर्ने साना साना प्रतिक्षालय अर्थात आधारभुत पूर्वाधार बनाउनेतर्फ सरोकारवालाको खास ध्यान छैन । 

अग्लो डाँडाँमा रहेकाले पनि यस मन्दिर क्षेत्रबाट प्राकृतिक सौन्र्दयताको अनुभुति अगाल्न सकिन्छ । त्यसैले यहाँ धार्मिक मात्रै होइन प्राकृतिक सौन्र्दयसँग सामिप्यता गर्न चाहने पर्यटक पनि सयौं आउने गरेका छन् । तर, पर्यटकका लागि आधारभुत आवश्यकता पूर्ति अहिलेको आवश्यकता बनेको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या छ । 

सन्तानेश्वर मात्रै होइन बाँकेमा नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभवानी मन्दिर र बर्फानीबाबा मन्दिर, राँझाको पशुपति मन्दिर, कम्दीको दुर्गा मन्दिर र कम्मरशाह बाबा, फुल्टेक्राको हडियाबाबा मन्दिर, सरस्वती मन्दिर, कृष्ण मन्दिर पनि प्रख्यात रहेका छन् । तर, धार्मिक पर्यटन प्रवर्दनमा स्थानीय सरकारदेखि केन्द्र सरकारका कसैले पनि प्रभावकारी योजना ल्याएको छैन ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update