News 24 Television
लुम्बिनीमा झांगियो एमालेको गुटबन्दी, मारमा लिला गिरी 

रुपन्देही । नेकपा एमालेभित्र लुम्बिनीको मुख्यमन्त्री नियुक्तिसँगै गुटको राजनीतिले औपचारिक प्रवेश पाएको छ । यसअघि सुसुप्त रुपमा रहेको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलविचको गुटको राजनीति यो पटक मुख्यमन्त्री नियुक्तिमा भएको हस्तक्षेपसँगै सतहमा देखिएको हो । अब यस गुटले पार्टी राजनीतिमा पार्ने प्रभाव कस्तो रहला त ? 

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पछिको नेतृत्व हाक्ने नेताको रुपमा चर्चा गरिने पात्र हुन्, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल । अनि, महासचिव शंकर पोखरेल पनि पार्टी नेतृत्वको दाबेदार पात्र हुन् । त्यसैले पनि यि पात्रहरु बीच कडा गुटगत गतिविधि बढिरहेका छन् । 

केन्द्रिय राजनीतिमा एमाले भित्रको आन्तरिक गुट वाह्य रुपमा नदेखिए पनि आन्तरिक रुपमा भने एमाले भित्र पौडेल र पोखरेल गुट मौलाउँदै गएको भन्दै अहिले यसका सम्भावित प्रभावबारे चर्चा एवम् विश्लेषण भइरहेका छन् । 

एमाले भित्रै मौलाउँदै गएको गुटका कारण लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सकेनन् भने फरक गुटको नेता भएकै कारण उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुले पनि गुटगट चर्चा बढेको हो । 

उपनेतालाई मुख्यमन्त्री बनाएपछि एमाले संसदीय दलको नेताबाट लीला गिरीले राजीनामा नै दिइसकेका छन् । यता, मुख्यमन्त्री बनेका चेतनारायण आचार्य महासचिव पोखरेल निकट हुन् । गिरी उपाध्यक्ष पौडेल पक्षका नेता हुन् । 

यसरी एमालेभित्रको गुटगत लडाई छताछुल्ल भएपनि यसलाई स्वीकार्न तयार छैनन् नेताहरु ।

अहिलेको यो परिस्थिति तत्काल सृजित भने होइन । यसको जड गत वर्ष भदौमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पौडेल पक्षका राधाकृष्ण कंडेलले आफ्नो पक्षका हरिप्रसाद रिजलालाई पराजित गरेको बदला महासचिव पोखरेलले मुख्यमन्त्री नियुक्तिमा लिएको सहजै बुझिन्छ । यस विषयमा असन्तुष्ट पक्षको भनाई यस्तो छ । 

बदलामा माहिर शंकर 

लुम्बिनी प्रदेशको अधिवेशनमा पार्टी पोलिटब्यूरो सदस्य समेत रहेका लिला गिरीले विष्णु पौडेल पक्षका पाल्पाका राधाकृष्ण कंडेललाई अध्यक्षमा निर्वाचित गर्न भूमिका खेलेका थिए । 

त्यसअघि २०७९ को निर्वाचन लगत्तै बनेको सरकारमा पोखरेलले गिरीलाई नै मुख्यमन्त्री बनाउन सकरात्मक भूमिका खेलेँ । तर, प्रदेश अध्यक्षमा आफू पक्षका प्यूठानका हरिप्रसाद रिजाललाई गिरीले असहयोग गरेको विषय ध्यानमा राखेका पोखरेलले मुख्यमन्त्रीमा रोक लगाएर बदला लिएको एमालेकै कार्यकर्ताहरु बताउँछन् । 

त्यसो त लुम्बिनीको राजधानी सारिएको विषय पनि पौडेल र पोखरेलबीचको शक्ति संर्घष नै थियो । अहिले फेरि मुख्यमन्त्रीको विषयमा दाउ फेरिएको अवस्था छ । 

यसले एमाले भित्रको राजनीतिक जीवनमा गुटगत दुबो थप झाङ्गिने र यस प्रवृतिले सबै प्रदेशमा बलियो प्रभाव राख्ने निश्चित जस्तै छ । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update