News 24 Television
कोशीबाट बाहिरियो माओवादी

मोरङ । कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्न खोजेपछि सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । 

शुक्रवार माओवादी केन्द्रका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर, भौतिक पूर्वाधार विकास मन्त्री गणेश प्रसाद उप्रेती र पर्यटन राज्य मन्त्री बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजिनामा बुझाएका हुन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काललाई जारी राख्दै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् । 

सहमतिको सरकार नबन्ने स्थिति आएपछि र मुख्यमन्त्री कार्कीले मार्गप्रशस्त गर्न घुमाउरो भाषा प्रयोग गरेपछि सरकारबाट राजिनामा दिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोको भनाइ छ ।  तत्कालै राजिनामा दिएर नैतिकता देखाउन आग्रह गर्ने प्रदेश सांसदहरुलाई मनोरोगी भन्दै नेता आङ्बोले पार्टी अध्यक्ष प्रचण्डको आग्रहमा सरकार नछोडेको स्पष्ट पारे । 

करिब ७४ दिन माओवादी केन्द्र कोशी प्रदेश सरकारमा सहभागि भएको थियो । गत बैशाख २७ गते नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ जना सांसदहरुको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिक्मत कुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीका नियुक्त भएका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update