News 24 Television
गौशाला २६ को सन्दीप बचाउ कदम ! कसरी फकाए सन्दीपले ?

काठमाडौं । गौशाला २६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भन्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन् । आफू संस्थाको षडयन्त्रमा पर्दा बलात्कारको जाहेरी दिन पुगेको दाबी गर्दै गौशाला २६ ले निवेदन दिएपछि यसले ठूलो प्रश्न जन्माएको छ । 

सन्दीपलाई उच्च अदालत पाटनले सफाई दिएपछि पीडित होस्टाइल मात्रै होइन कि गौशाला २६ लाई कमजोर बन्न नदिन राज्यले भूमिका निर्वाह गर्न नसकेको प्रष्ट देखिन्छ । 

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा लडिरहेकी गौशाला २६ होस्टाइल भइरहेको भन्दै पछिल्लो समय यसमाथि चिन्ता व्यक्त हुन थालेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)को बन्द प्रशिक्षण छोडेर गौशाला २६ लाई नगरकोट हुँदै सिनामंगलस्थित एक होटेलमा ल्याएर जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी परेपछि तत्कालीन नेपाली क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

सन्दीप पक्राउ पुर्जी जारी भएपछि भाग्ने कोसिसमा समेत तल्लिन भए । तर, इन्टरपोलले समात्ने पक्का सूचना पाएपछि नेपाल आएर आत्मसमर्पन गरेका उनी केहिसमय हिरासत बसे । जिल्ला अदालत काठमाडौंले गौशाला २६ को आर्थिक देखि पारिवारिक हैसियतलाई प्रभावमा पार्दै करणी गरेको ठहर ग¥यो । तर, उच्च अदालत पाटनले सन्दीप र गौशाला २६ बीच सहमतिमै सबै काम भएको भन्दै बलात्कारको प्रमाण नपुग्ने ठहर गरिदियो । 

उच्च अदालत पाटनले सहमतिमै भन्ने ठहर गर्दा करणी नभएको भने देखिन्न । तर, उनले प्रतिवाद नगरेकोदेखि विभिन्न प्रमाण टेकेको उच्चले यौन सम्बन्ध नभएको भने बोलेको थिएन् । 

तर, उच्चको पूर्णपाठ सार्वजनिक हुनुअघिसम्म न्यायको अन्तिम ढोका ढकढक्याउने दाबी गर्दै आएकी गौशाला २६ एकाएक सन्दीपविरुद्ध पुनरावेदन नगर्न भन्दै निवेदन दिन पुगेकी छन् । यसले थप आशंका उब्जाएको छ । 

गौशाला २६ को निवेदनमा शंका

गौशाला २६ ले उच्च अदालत पाटनमा दिएको  निवेदनमा आफूमाथि बलात्कार नभएको र संस्थाको दबाबमा परेर जाहेरी दिएको उल्लेख छ । उनले सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्न गरिएको अपिल र बन्द इजलासमा गौशाला २६ ले राखेका आफ्ना तर्कहरु भने आकास जमिनको फरकपनामा देखिन्छन् । 

गौशाला २६ ले बलात्कार नै नभएको भन्ने दाबी लिने कुरामा उनी होस्टाइल भएको आशंका गर्न थालिएको छ । माइति नेपालको संरक्षणमा रहेकी उनले त्यहि संस्थालाई दिएको दोष र अहिले बलात्कार नै भएको होइन भन्ने कुराले उनी होस्टाइल भएको शंका गरिएको छ । 

जिल्ला अदालत काठमाडौंले गौशाला २६ किन यस्तो स्थितिमा आइपुगिन भन्ने विषयमा टेकेका आधार र उनीको स्थितिलाई हेर्दा पनि होस्टाइल भएको शंका व्याप्त छ ।

सफाई पाएपछि के भनेका थिए सन्दीपले ?

उच्च अदालत पाटनले सफाई दिएपछि सन्दीपले खुशी साट्दै आफू निर्दोष रहेको दाबी गरेका थिए । उनले आफूमाथि न्यायालयप्रति विश्वास रहेको र न्याय पाएको भनेका थिए । 

सन्दीपको पक्षमा वकालत गरिरहेका कानून व्यवसायी सरोजकृष्ण घिमिरेले पनि गौशाला २६ विरुद्ध केहि नभनिदिन अपिल गरेका थिए । गौशाला २६ को पक्षमा उभिएका कानून व्यवसायी घिमिरेले त्यो बेला नै पीडितको हकको कुरा उठाएका थिए । 

उच्च अदालत पाटनले सन्दीपलाई सफाई दिएपछि समेत अदालतको फैसलामाथि प्रश्न उठेका भने थिए । तर, न्यायिक प्रक्रियालाई गिजोल्न गरि भने प्रश्न उठ्ने भन्दा पनि यसका अनेक पाटा पक्षमा कुरा उठेका थिए । 

चुकेको राज्य

पीडितलाई संरक्षण, अभिभाकत्व गर्ने जिम्मा राज्यको हो । तर, गौशाला २६ जस्ता थुप्रै पीडितहरु अदालतको बयान मै होस्टाइलमा पर्ने र बयान फेर्ने गरेका थुप्रै दृष्टान्त पाइन्छन् । गौशाला २६ को हकमा पनि होस्टाइल भएको विषय जोडले उठेको छ । 

राज्यले पीडित संरक्षण गर्नुको सट्टा सन्दीपलाई राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको केपी शर्माको सपथमा समेत सहभागी गराइनुले पनि पीडितमाथि दबाब र प्रभाव नपर्ने विषय नै हुन्न । 

उच्च ओहोदाको पीडक र सामान्य मानिसबीचको कानूनी लडाईमा राज्यले अपनाउनुपर्ने कुनैपनि सावधानी अपनाउन नसक्दा यस्ता घटना दोहोरिने र कानूनी राज्यको उपहास हुने क्रम रोक्न सकिन्न । 

गौशाला २६ को हकमा समेत राज्यले पीडितलाई गर्न नसकेको संरक्षणको पछिल्लो परिणाम त होइन ? शंका उब्जिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update