News 24 Television
रविको नयाँ रणनीति, पार्टी सशक्त पार्न पूर्ण केन्द्रीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भर्खरै उदाएको दल हो । रास्वपा रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते स्थापना भएको थियो । स्थापनाको ६ महिना पछि नै भएको आमनिर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ सिट जित निकाल्दा संसदमा  चौँथो ठूलो दल बन्न सफल भयो ।

त्यसपछि भएको पहिलो उपनिर्वाचनमा पनि सभापति रवि लामिछानेले उत्साहपूर्वत मत प्राप्त गरे । सभापति रवि नागरिकता प्रकरणमा अदालतबाट दोषी ठहरिएपछि उपनिर्वाचन गर्नु परेको थियो । सो क्रममा दोस्रो पटक चुनावमा होमिएका रविले चितवन – २ का जनताबाट उत्साहपूर्वक मत प्राप्त गरे । 

यो उपनिर्वाचनबाट उनी एक्लै आएनन् । तनहुँबाट उपसभापति स्वर्णिम वाग्लेलाई पनि जिताउँदै संसद प्रवेश गराए । यो समयसम्म रास्वपाप्रति जनताको क्रेज थियो । 

प्रतिनिधिसभाका लागि भएका ३ क्षेत्रमा भएका उपनिर्वाचनमध्ये दुई क्षेत्र रास्वपाले नै जितेको थियो । रविको जितमा सर्वाधिक मत प्राप्त गर्ने सांसदको रेकर्ड पनि बन्यो । उनले चितवन – २ बाट ५४ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । 

हालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त गरेको ५२ हजार मतको रेकर्ड रविले नै तोडिदिएका हुन् । स्वर्णिमसहित आएका रविले उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा २१ सांसद बनाए । तर पछि सरकारमा आएपछि आम नागरिकमा रास्वपाप्रतिको आकर्षण घट्यो । 

सभापति रविमाथि लागेको सहकारी ठगी प्रकरण र सरकारमै रहेर उचित डेलिभरी दिन नसकेको भन्दै रास्वपाप्रति नागरिकको अविश्वास पैदा भयो । फलत ः गत बैशाखमा सम्भन्न दोस्रो उपनिर्वाचनमा रास्वपाले लज्जास्पद हार व्यहोर्नु परेको थियो । 

इलाम – २ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदावारले जमानत नै गुमाए । त्यसपछि रास्वपा गम्भीर समीक्षातर्फ लाग्यो । 

पार्टी र संगठन कमजोर अवस्थामा पुगेको अनुभूती गरेका सभापति रविले पार्टीको अवस्था बुझ्न तत्कालीन महामन्त्री मुकुल ढकाललाई देश दौडाहामा पठाए । तर मुकुलको प्रतिवेदनले रास्वपामा खैलाबैला ल्यायो । मुकुलले एक महिना लगाएर ३८ जिल्लाका बुद्धिजिवी र कार्यकर्ताका प्रतिकृयालाई समेटेर प्रतिवेदन तयार गरे । 

तर मुकुलको प्रतिवेदनप्रति चित्त नबुझाएका रास्वपा नेताहरुले उनी कुनै समूहबाट प्रेरित र परिचालित भएको निश्कर्ष निकाले । पछि प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापति रविसँगै विवाद भएपछि उनी पार्टीको अनुशासन कारवाहीमा परे । 

अहिले महामन्त्रीको कार्यवाहक जिम्मेवारीमा कविन्द्र बुर्लाकोटी छन् । त्यस्तै कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा रहेका छन् । पार्टीभित्रको यो कलह हुँदै गर्दा रास्वपा सरकारबाट पनि बाहिरियो । सहकारी ठगी प्रकरण सँगै इलाम उपनिर्वाचनको नतिजाले रास्वपा कमजोर भएको निष्कर्ष छ । 

यही निचोडमा पुगेको रास्वपा अहिले पार्टी संगठनलाई मजबुद पार्ने निश्कर्षमा पुगेको छ । रास्वपाले विधान संशोधन देखि पार्टीको सुदृढीकरण अभियानसम्म संचालन गर्ने तयारी गरिरहेको छ । विहीबार पार्टीको बैठक राखेर रास्वपाले विधान परिमार्जन गर्न ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठनसमेत गरेको छ । 

त्यस्तै बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टी सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीलाई अझ सशक्त बनाउन कर्णाली विशेष अभियान भाद्र दोस्रो सातादेखि सुरु हुने भएको हो ।

पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धि र रणनीतिमा अझै धेरै छलफल आवश्यक ठान्दै रास्वपाले निरन्तर रुपमा काम गर्न पार्टीको क्लोज क्याम्प गर्ने पनि निर्णय गरेको छ । यसको नेतृत्व सभापति रवि लामिछानेले गर्ने भएका छन् । 

त्यस्तै केन्द्रिय विभाग मनोनयन र अनुमोदनको बाँकी कार्य पूरा गर्ने र विभागमार्फत आफ्नो कार्यविधिको समीक्षा गर्दै पार्टी संगठनलाई मजबुद पार्ने रास्वपाको तयारी छ । रास्वपाले विविध भोगाइ र सिकाइ अनुसार पार्टी विधान परिमार्जन र आफूलाई परिस्कृत गर्ने योजना बनाएको हो । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update