News 24 Television
‘ड्रेस टु इम्प्रेस'को दसौं संस्करण भव्यरुपमा सम्पन्न

काठमाडौं । फेसन डिजाइनरका विद्यार्थीहरुले आफूद्धारा रचित कलात्मक पहिरणलाई आफैले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दसौं संस्करण शनिवार काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । 

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भएको ‘ड्रेस टु इम्प्रेस सिजन १०’ विभिन्न चार विधामा चार जना डिजाइनरहरु सर्वोत्कृष्ट भएका छन् । प्रतिस्पर्धामा सहभागी डिजाइनरहरुलाई विभिन्न चार समूहमा विभाजन गरिएको थियो । 

पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरी चार समूहमा विभाजन गरिएको प्रतियोगिता अन्तर्गत चार वटै विधाबाट एक एक जना डिजाइनरको डिजाइनलाई सर्वोकृष्ट घोषित गरिएको हो । 

प्रज्ञा प्रतिष्ठानमा आयोजित यो फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धी नं ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको परिरण सर्वोत्कृष्ट भएको हो । ‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धी नं ३६ खुशबु सेवा सर्वोकृष्ट भइन् । उनले डिजाइन गरेको आकर्षक शैलीको पोशाकले सबैको मन जितेको थियो । 

dress-3-1721971028.JPG
तेस्रो विधा थियो ‘क्यारिङ अवे इन डेजाभू’  यो विधामा प्रतिस्पर्धी नम्बर ७७ सिलु बज्राचार्यले बाजी मारिन् भने अन्तिम विधा ‘माइथोलोकिल’ शीर्षकमा प्रतिस्पर्धा नम्बर ११३ ईन्द्राबती क्षेत्रीले डिजाइन गरेको पहिरण उत्कृष्ट ठहरियो । 

उक्त समारोहमा आईआईएफटीबाट दिक्षान्त भएका ७६ जना विद्यार्थीहरुलाई ग्राजुएसन सर्टिफिकेट प्रदान गरिएको थियो । लोकप्रिय डिजाइनर युबी थापाले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

चारै जना विजेताहरुले नगद पुरस्कार हात पारे । प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीहरुलाई कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानसहित निर्णायकहरुको समूहले नगद पुरस्कार, प्रमाणपत्र र स्यास हस्तान्तरण गरेका थिए । 

आईआईएफटीबाट पासआउट भएका एक सय भन्दा बढी डिजाइनरहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको यो प्रतिस्पर्धामा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनरहरु कुसुमपदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ तथा सुष्मा सिंह निर्णायकको रुपमा रहेका थिए । 

प्रतियोगितामा मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधान, व्यवसायी सुरबहादुर श्रेष्ठ, प्रदीपमान प्रधान, रोजल शाही, विज्ञापन विशेषज्ञ विवेक श्रेष्ठ, सञ्चारकर्मी उज्ज्वलजंग शाह, अधिवक्ता लक्ष्मण महर्जन, सौन्दर्यकर्मी सुष्पमा महरा, निर्देशक अनिल योञ्जन, सञ्चारकर्मी अरुणा भट्टराई डिजाइनर युबी थापा, फोटा पत्रकार प्रदीपराज वन्त, निर्माता हरिमल्ल ठकुरी, इन्टरप्रेनर शाहरुख हुसेन, राजनीतिकर्मी उज्ज्वलकृष्ण श्रेष्ठ तथा डा करिना भट्टराईको उपस्थिति रहेको थियो । 

आईआईएफटीका प्रवन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रमलाई आईआईएफटीको नियमित कार्यक्रम भएको बताउँदै आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यो प्रतिस्पर्धा आयोजित भएको बताए । 

फेसन डिजाइनिङका विद्यार्थीहरुले हप्तौंदेखिको मेहनत लगाएर तयार पारेका आकर्षक तथा मौलिक पहिरणको प्रदर्शनसहितको ‘ड्रेस टु इम्प्रेस’ले फेसन पारखीलाई नविनतम् फेसनका बारेमा जानकारी दिनुका साथै सर्वसाधारणमाझ फेसनको क्रेजसमेत बढाउने आईआईएफटीका निर्देशक शिवलाल श्रेष्ठको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update