News 24 Television
एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई स्याबासी

सुर्खेत । यो रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन । ठिक १० बजे राष्ट्रिय गान बज्छ । 

राष्ट्रिय गानमा सहभागी भएर कर्मचारीहरु आ–आफ्नो कार्यकक्षमा जान्छन् । बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको छ नागरिकले सेवाप्राप्त गर्ने प्रक्रिया पनि त्यति नै सहज र व्यवस्थित छ । सेवाग्राहीहरु कार्यालयको मूल ढोकाबाट भित्र पस्नेवित्तिकै सहायता कक्षका कर्मचारीले कार्यालयमा लिएर आएको कामबारे सोधुपुक्ष गरेर नजिकै रहेको मेशिनबाट टोकन लिन लगाउछन् । 

टोकन लिएर लाइनमा बसेका सेवाग्राही आफ्नो पालो आएपछि बाँयातर्फको एकीकृत सेवाप्रवाह सञ्चालन केन्द्रमा प्रवेश गर्दछन । सेवा केन्द्रभित्र दर्ता चलानी फाँटमा आफ्नो फाइल बुझाएपछि त्यहाँ रहेका कर्मचारीले सेवाग्राहीलाई काम सम्पन्न हुन लाग्ने समय बताइदिएर प्रतिक्षा कक्षमा बस्न भन्छन । 

सेवाग्राही प्रतिक्षा कक्षमा बसीराख्दा कर्मचारीले नै फाइल सम्बन्धित फाँटहरुमा लिएर काम सम्पन्न गरी ल्याइदिन्छन । सेवाग्राही भने प्रतिक्षाको सोफामा बसेरै आफ्नो काम सकेर फर्किन्छन् । बसीबसी सेवा लिन पाएपछि सेवाग्राही खुशि भएर फर्किने गरेका छन् । 

एकीकृत सेवाप्रवाह केन्द्रबाट सेवा दिन थालेपछि सेवाग्राहीसंगै नगरपालिकालाई समेत सहज भएको छ । एकीकृत सेवा प्रवाहपछि सेवा छरितो, सरल हुनुका साथै सेवाग्राहीमा सन्तुष्टि बढेको कार्यालयका निमित्त प्रमुख शेरप्रसाद ढकालले बताए ।

कर्णाली प्रदेश सरकारले गत आर्थिक बर्षमा पाँच वटा पालिकालाई नमूनाका रुपमा विकास गर्ने योजना बनाएको थियो । प्रदेश सुशासन केन्द्रमार्र्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गतको यूरोपेली संघ समावेशी संघीयता सहयोग परियोजननासँगको सहकार्यमा चौरजहारीसँंगै दैलेखको दुल्लु र सुर्खेतको पञ्चपुरी नगरपालिकालाई नमूना पालिकाका रुपमा विकास गरिएको प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले जानकारी दिए । 

जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तहमा एकीकृत सेवा प्रवाह एकदमै महत्वपूर्ण रहेको सचिव सारुको भनाई छ । 

यस बर्षको नीति तथा कार्यक्रममा नेपाल सरकार र कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई एकीकृत बनाइ टोकन प्रणाली लागू गर्ने उल्लेख गरेका छन् । यदि इच्छा शक्ति हुने हो भने भैरहेको स्रोत साधनबाटै एकीकृत सेवा प्रवाह गर्न सकिने चौरजहारी नगरपालिकाको भनाइ छ । 

संघीयतापछि धेरै प्रकारका सेवा स्थानीय तहबाटै दिने व्यवस्था छ । तर सेवाप्राप्त गर्ने झण्झटिलो प्रक्रियाका कारण नागरिकमा असुन्तुष्टि बढेको छ । त्यसैले यहाँ जस्तै अन्यत्र पनि टोकन प्रणालीबाट एकीकृत सेवा दिन सके नागरिकमा सन्तुष्टि बढ्नुका साथै संघीयता प्रतिको जनविश्वास बढ्ने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update