News 24 Television
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए 

काठमाडौं । सी चेकका लागि गएको भनिएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरु पनि समेत परेपछि स्वदेशी एयरलाइन्सभित्रको बेथिति र कमजोरी पुनः छरपष्ट भएको छ । 

एयरलाइन्स सम्बन्ध चालक, प्राविधिक र कर्मचारी मात्रै जान मिल्ने उडानमा बाहिरी मानिस समेत कसरी परे भन्दै संसदको पर्यटन तथा अन्तराष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको छ । बिहिवार समितिको बैठकमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सांसदहरुले यही विषयमा प्रश्न गर्दा उनी पन्छिएका छन् । 

बिहिवार त्रिभूवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि नेपाली एयरलाइन्सभित्रका कमीकमजोरी बेथिति छताछुल्ल भएको छ । 

प्राविधिक जाँचका लागि काठमाडौँबाट पोखरा उडेको विमान उडेको २० सेकेण्डमै दुर्घटना हुँदा त्यसमा सवार १८ जनाको मृत्यु भयो । जब मृत्यु हुनेहरुको नाम सार्वजनिक भयो, त्यसमा एयरलाइन्ससँग असम्बिन्धित व्यक्ति पनि रहेको पुष्टि भयो । 

प्राविधिक जाँचका लागि उडेको विमानमा असम्बन्धित व्यक्तिहरु समेत परेपछि सौर्य एयरलाइन्स आलोचित बनिरहेको छ । विमान दुर्घटना र बाहिरी व्यक्ति समेतको मृत्यु भएपछि पर्यटन तथा अन्तराष्ट्रिय सम्बन्ध समितिले नियामक निकाय नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई  बोलाएर केरकार गरेको  छ । 

समिति बैठकमा कांग्रेस सांसद उदय शमसेर जबराले अधिकारीले प्राधिकरणको नेत्तृत्व सम्हालेयता मात्रै ७ वटा हवाई दुर्घटना भएको भन्दै उनको क्षमतामाथि औला उठ्याएका छन् ।

आफ्नो कार्यकालमा भएका दुर्घटनाको जिम्मेवारी लिन समेत सांसद उदय शमसेरले अधिकारीलाई आग्रह गरे । अन्य देशमा यस्ता ठूला घटना घट्दा नैतिकताको आधारमा राजीनमा दिनु पर्ने वा सरकारले आफै हटाउनु पर्ने राणाको भनाइ छ । महानिर्देशक अधिकारीलाई निलम्बन नगरे छानविन आयोग समेत प्रभावित हुने उनको धारणा छ । 

तर विमान दुर्घटनाको छानविन गर्न समिति गठन भइसकेकाले प्राविधिक पक्षमा बोल्न नमिल्ने भन्दै प्राधिकरणका महानिर्देशक अधिकारी पन्छिएका छन् । सरकारले ५ सदस्यीय छानविन समिति गठन गरिसकेको बताउँदै अनुसन्धानको दायरामा रहेको विषयमा बोल्न नमिल्ने अधिकारीको तर्क छ ।

विमान दुर्घटना हुँदा सौर्य एयरलाइन्समा कार्यरत आइटी इन्जिनियर मनुराज शर्मासँगै उनकी पत्नी प्रिजा खतिवडा र उनका नाबालक छोरा अधिराजको निधन भएको थियो । 

मनुराज दुर्घटनाग्रस्त विमानको एयरलाइन्स कम्पनीमै कार्यरत थिए र ‘सी–चेक’ टिमकै सदस्य थिए । तर इन्जिनियर शर्माका श्रीमती र छोरा भने कम्पनीका कर्मचारी भन्दा बाहिरका थिए । जहाजमा सवार १९ जनामध्ये १८ जनाएको घटनास्थलमै मृत्यु भएको थियो भने क्याप्टेन मनिषराज शाक्य घाइते अवस्थामा उद्दार गरिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update