News 24 Television
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको ६ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । 

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी पन्तको ११ गते उखुबारीमा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएपनि घटनामा संलग्नको भने अहिलेसम्म पहिचान हुन सकेको छैन । यो अवधिमा ४ गृहमन्त्री फेरीए भने ५ प्रहरी प्रमुख फेरिए । तर निर्मला हत्याकाण्ड राजनीतिको दाउपेच मात्रै भएको छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको हत्या भएको ६ वर्ष पूरा भएको छ । तर यो अवधिमा निर्मला हत्याकाण्ड राजनीतिक दाउपेच मात्रै बन्न पुगेको छ । पछिल्लो समय कांग्रेस–एमाले गठबन्धन बनेपछि गृहमन्त्रालयबाट बाहिरिँदै गर्दा असार ३० गते पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति र रवि लामिछानेले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान निश्कर्षमा पुग्नै लागेको बताएका थिए । 

आफूलाई क्रेडिट नचाहिने भन्दै लामिछानेले प्रहरी अनुसन्धानको प्रशंसा गरेका थिए । लामिछाने भन्दा अगाडि तीन जना गृहमन्त्री फेरिए तर जो सुुकै गृहमन्त्री भए पनि निर्मला हत्याकाण्ड अहिलेसम्म पनि रहस्यमय छ । हालका गृहमन्त्री रमेश लेखक भने निर्मलाकै क्षेत्रबाट निर्वाचित भएका मन्त्री हुन् । तर उनीबाट पनि हत्यारा पत्ता लगाउलान् भन्ने निर्मलाको परिवारलाई लागेको छैन । 

प्रहरीको केन्द्रीय अनुसन्धान यूरो (सिआईबी) र जिल्लाले आ–आफ्नै तरिकाले घटनाको अनुसन्धान गरिरहेका छन् । यो अनुसन्धानका लागि सुरक्षा निकायले राज्यको ठूलो रकम खर्चिएको छ ।
 
निर्मला हत्याकाण्ड प्रकरणमा प्रहरीले यसअघि नै ६५५ जनासँग सोधपुछ, ४९ जनासँग घटना विबरण कागज र १२४ जनाको डी.एन.ए परीक्षण गरी सकेको छ । अब डि.एन.ए को च्याप्टर सकिएको र हुमन इटंलीजेन्सबाट अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले त्यतातिरबाट अनुसन्धान गरी राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

यसअघि निर्मलाकै घटनाको अभियोगमा प्रहरीले भीमदत्त नगरपालिका–१९ का दिलिपंिसंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर आवश्यक प्रमाण तथा डिएनए मेल नखाएपछि उनलाई २४ दिन हिरासतमा राखेर छोडियो । १३ वर्षकी नाबालिका छोरी गुमाएको घरपरिवार अचेल पीडालाई थाती राखेर आफ्नो पुरानै लयमा फर्किएको छ । 

बुवा आफ्नो व्यवसाय चलाउन व्यस्त छन् भने आमा वडामा कार्यालय सहयोगीको रुपमा कार्यरत छिन् । दिदी मनिषाको बिहे भइसकेको छ, यता कान्छी बहिनी आमासँगै घरमा छिन् । उनीहरुको मनमा अहिले पनि निर्मलाको हत्यारा को होला भन्ने पिडादायक कौतुहलता मात्र छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update