News 24 Television
माधव नेपालको पार्टी खतरामा, कसले सिध्याउँदैछ नेकपा एस

काठमाडौं । कांग्रेस एमालेको समिकरणबाट गठबन्धन सरकार बनेपछि साना दलको नेताहरु आतंकित बनिरहेका छन् । प्रतिनिधिसभाको पहिलो र दोस्रो ठूलो दल मिलेपछि स्पष्ट बहुमत सहित बनेको सरकारले साना दलहरुको अस्तित्व मेटाउन सक्ने त्रास उनीहरुलाई छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि पछिल्लो समय त्रसित देखिन थालेका छन् । आफ्नो पार्टीविरुद्ध षडयन्त्र भइरहेको अध्यक्ष नेपालको बुझाई छ । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा उनले पार्टीबिरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताए । 

नेकपा एसविरुद्ध कसले के कस्तो षडयन्त्र गर्दैछ भन्ने चाही नेपालले खुलाएनन् । तर षड्यन्त्रका बिरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नु पर्ने उनले बताए । र, यसका लागि पार्टीभित्र पूर्ण सतर्कता अपनाउन समेत उनले निर्देशन दिए । 

पार्टीविरुद्ध यस्तो हुँदैछ, उस्तो हुँदैछ भनेर बोलेर वा लेखेर मात्रै केही नहुने पनि अध्यक्ष नेपालले बताए । पार्टीविरुद्ध भइरहेको षडयन्त्र रोक्न विभिन्न राजनीतिक दल र  राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि उनको भनाइ छ । 

माधव नेपाल किन त्रसित ? 

खासमा माधव नेपाल प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सबैभन्दा बढि त्रसित र आक्रोशित छन् । अघिल्लो पटक गठबन्धन सरकारमै रहेका बेला पनि ओली र नेपालबीच सुमधुर सम्बन्ध थिएन । दुवै एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रदै आएका थिए । 

ओलीकै कारण कांग्रेस माओवादी सहितको गठबन्धन सरकारमा माधव नेपाल प्रधानमन्त्रीको रोलक्रममा थिए । तर ओली र प्रचण्ड मिलेपछि नयाँ गठबन्धन सरकार बन्दा माधवको प्रधानमन्त्री बन्ने सपना त्यतिकै तुहिएर गयो । 

प्रचण्ड नेत्तृत्वको सरकारमै एमाले मिसिएपछि पनि नेकपा एस सरकारमै थियो । सरकारमै हुँदा पनि ओलीले षडयन्त्र गरेको भन्दै बेलाबेला नेपाल आक्रोशित बन्ने गरेका थिए । आफुलाई प्रधानमन्त्री बन्नबाट रोक्न ओली लागि परेको उनी आफ्ना भाषणहरुमा घुमाउरो पाराले उल्लेख गर्ने गर्थे । तर यसपटक ओलीले कांग्रेससँग सहकार्य गर्दै सत्ता मात्रै परिवर्तन गराएनन् आफु प्रधानमन्त्री समेत बने । 

ओली प्रधानमन्त्री बनेपछि एमालेलाई संसदको सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा छन् । यसका लागि यही संसदको कार्यकालमा ओलीले साना दलहरुलाई एमालेमा मिसाउने वा अन्य दलहरु फुटाउन सक्छन् ।

ओलीको यही मनशाय बुझेका कारण साना दलहरु कतिबेला ओलीको कोपभाजनमा परिने हो भन्ने कुराले आतंकित छन् । यही सेरोफेरोमा माधव नेपालले पनि आफ्नो दल खतरामा रहेको संकेत पाइसकेको हुन सक्छ । 

त्यसैले पनि विहिवार केन्द्रीय कमिटी बैठकमा आफ्नो पार्टीविरुद्ध षडयन्त्र भइरहेको उनले खुलासा गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update