News 24 Television
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास

काठमाडौं । सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । लिलादेवी नेपालको निजामति सेवाको इतिहासमै पहिलो महिला मुख्यसचिव बन्न सफल भएकी हुन् । 

यसअघि, बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले लिलादेवीलाई कायममुकायम मुख्यसचिव नियुक्त गरेको थियो । ५८ वर्षे उमेरहदले गड्तौला भदौ १५ मा सेवानिवृत्त हुनेछिन् । 

अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । गड्तौला २०७७ कात्तिकमा सचिवमा बढुवा भएकी थिइन् । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ भने सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update