News 24 Television
अमेरिकाको राष्ट्रपति चुनाव प्रचारमा आरोप प्रत्यारोप  

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी परित्याग गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइटहाउसबाट पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएका छन् । 

टेलिभिजन सम्बोधन गर्दै उनले आफू स्वास्थ्यका कारणपछि नहटेको तर नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्ने समय आएको बताए । बाइडेन राष्ट्रपति उम्मेदवारबाट बाहिरिएपछि डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार बन्ने सम्भावना बढेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र पार्टीका हितका लागि आफू दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हटेको बताएका छन् । 

फितलो चुनावी अभियान र शारीरिक तन्दुरुस्तीको विषयमा पार्टीभित्र र बाहिरबाट व्यापक आलोचना भएपछि बाइडनले दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हट्ने निर्णय गरेका हुन् ।

एकासी वर्षका बाइडेनले आफ्नो दल डेमोक्र्याटिक पार्टी र अमेरिकालाई एकताबद्ध गर्नका निम्ति आफूले उम्मेदवारी फिर्ता लिएर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेको बताएका छन् । 

जुलाई २१ मा राष्ट्रपतिको दौडबाट पछि घोषणा गरेका उनले ह्वाइटहाउसबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । यसैबीच, एउटा चुनावी ¥यालीमा राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई अतिवादी वामपन्थीको आरोप लगाएका थिए । 

अहिलेसम्मका मतसर्वेक्षणहरूले ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने सङ्केत गरेका छन् । 

आधा शताब्दीभन्दा बढी समयदेखि अमेरिकाका विभिन्न सार्वजनिक पदमा रहेका बाइडेनले अगाडि बढ्ने उत्तम उपायका रूपमा आफूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको बताएका छन् । 

यता, बाइडनको सम्बोधनभन्दा केही घण्टाअघि ७८ वर्षीय ट्रम्पले नोर्थ क्यारलाइनाको शार्लोटमा आयोजित एउटा चुनावी सभामा आफू नराम्ररी पराजित हुने देखेर बाइडनले उम्मेदवारी परित्याग गरेको दाबी गरे ।

उनले बाइडनलाई अमेरिकी इतिहासकै सबैभन्दा हानिकारक राष्ट्रपतिको संज्ञा दिएका छन् भने उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदका लागि सम्भावित उम्मेदवार कमला ह्यारिसको पनि आलोचना गर्न भ्याएका छन् । 

ट्रम्पले ह्यारिसलाई अतिवादी वामपन्थी पागलको संज्ञा दिँदै उनी बाइडनले गरेको प्रत्येक विध्वंसका लागि अति उदारवादी उत्प्रेरक भएको आरोप लगाए । ह्यारिसले पनि ट्रम्पले गरेका टिप्पणीमाथि तीव्र प्रहार गरिरहेकी छन् ।

बुधवार उनले इन्डियानापोलिसमा बोल्दै आफूलाई जिताउन मतदाताहरूलाई आग्रह गरिन् । यदि ह्यारिसले चुनाव जितिन् भने उनी प्रथम अश्वेत, दक्षिण एशियाली अमेरिकन र महिला राष्ट्रपति हुने छिन् । अमेरिकी अश्वेत मतदाताहरूबाट समर्थन पाए उनलाई सजिलो हुने छ । यद्यपि ब्ल्याक लाइभ्स म्याटर’ अधिकार समूहले विज्ञप्ति जारी गर्दै डेमोक्र्याटहरूले “अश्वेत मतदाताहरूलाई भ्रमपूर्ण प्रभावमा पार्न खोजिरहेको“ आरोप लगाएको छ । 

जसले प्रजातान्त्रिक सिद्धान्तहरूको स्पष्ट उपेक्षा गर्दै अर्बपति चन्दादाताहरूको चाहनामा ह्यारिसलाई अघि सारिएको दाबी गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update