News 24 Television
कहालीलाग्दो हवाई सुरक्षा, छैन नैतिक जिम्मेवारी

काठमाडौँ । नेपालमा हवाई सुरक्षा कहालीलाग्दो अवस्थामा रहेको बुधबारको दुर्घटनाले थप पुष्टि गरेको छ ।  बुधवार प्राविधिक मर्मत–सम्भारका लागि काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको विमान रनवे छाड्नेबित्तिकै त्रिभुवन विमानस्थल परिसरमै खसेर दुर्घटनाग्रस्त भयो । दुर्घटनालगत्तै विमान टुक्राटुक्रा मात्र भएन, आगो समेत लाग्दा त्यसमा सवार एक बालकसहित १८ जनाको मृत्यु भयो । चालकदलका सदस्य र सौर्य एअरलाइन्सकै सुरक्षा प्रमुख, प्राविधिक प्रमुख लगायत कर्मचारीहरू उक्त विमानमा सवार थिए । तर पाइलटबाहेक १८ जनाको तत्कालै मृत्यु भयो । मर्मत–सम्भारका लागि उडाइएको विमान हो भने यत्रो संख्यामा प्राविधिक लगायत कर्मचारी र साधारण यात्रु अझ बालकसमेत किन चढाइयो ? भन्ने प्रश्न उठेको छ । 

मौसम समेत सामान्य रहेको अवस्थामा विमानस्थलमै विमान खस्नुले नेपालमा हवाई सुरक्षा प्राविधिक तथा नीतिगत दुवै हिसाबले फितलो रहेको देखिन्छ । बर्सेनी यस्ता दुर्घटना भइरहँदा पनि सरकार र नियामक निकाय गम्भीर देखिँदैनन् । 

यसअघि २०७४ फागुनमा बंगलादेशको ढाकाबाट ७१ जना बोकेर काठमाडौँ आएको युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै खसेर दुर्घटना भएको थियो । ती यात्रुमध्ये चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो र २० जना घाइते भएका थिए । मृत्यु हुनेमा अधिकांश नेपाली विद्यार्थी थिए । बङ्गलादेशी नागरिक पनि उत्तिकै थिए । युएस बंगलाका पाइलटले विमानस्थल टावरबाट सही सूचना नपाउँदा या झुक्किँदा फरक रनवेबाट अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको निष्कर्ष निकालिएको थियो । 

Bangala-air-crash-1721907116.jpg
डेढ वर्षअघि २०७९ माघ १ गते काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै खसेर दुर्घटना भयो । त्यसमा सवार चालक दलका ४ जनासहित ७२ जनाकै मृत्यु भयो । अवतरणका क्रममा चालक दलको लापरवाहीका कारण उक्त दुर्घटना भएको अनुमान गरिएको थियो । त्यसमा सिकारु पाइलटलाई यात्रु बोकेर उडेको जहाज अवतरण गर्न दिइएको आरोप लागेको थियो । दुर्घटना जाँचबुझ आयोगले पनि उक्त विमान दुर्घटना मानवीय त्रुटिकै कारण भएको निष्कर्ष निकालेको थियो । 

२०७९ कै जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्विनअटर विमान दुर्घटना भयो । त्यसमा सवार सबै २२ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१९ मा लुक्ला विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाटै चिप्लिएर मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको थियो । 

यसरी पछिल्ला ५–६ वर्षयता भएका अधिकांश विमान दुर्घटना मौसमी कारण नभई मानवीय एवं प्राविधिक कारण नै भएको देखिएको छ । तर पनि नेपालको हवाई सुरक्षा नीति र सावधानीमा सुधार भएको देखिन्न । जसका कारण बर्सेनी हवाई दुर्घटना भइरहेका छन् । पछिल्लो १४ वर्षयता १२ वटा विमान दुर्घटना भएका छन् भने १० वटा हेलिकप्टर दुर्घटना भएका छन् । अर्थात् १४ वर्षमा कुल २२ वटा हवाई उड्डयनसम्बन्धी दुर्घटना नेपालमा भए ।

Pokhara-air-crash-1721907139.jpg
दुर्गम स्थानमा या खराब मौसमका कारण भएका दुर्घटनालाई भवितव्य भन्न सकिएला । तर सामान्य मौसम हुँदाहुँदै र विमानस्थल परिसरमै ठूला दुर्घटना हुनु भनेको मानवीय र प्राविधिक कमजोरी या भनौँ लापरवाही हो । यसमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको समेत कमजोरी रहेको र नेतृत्व अक्षम रहेको भन्दै आलोचना भइरहेको छ । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा बैठकमा कांग्रेसका सांसद उदय शमशेर जबराले अध्यादेशबाट भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग्याउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने माग रोखका छन् । साथै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नेतृत्व क्षमतामा प्रश्न उठाएका छन् । आफ्नै कार्यकालमा ७ वटा हवाई दुर्घटना हुँदा समेत अधिकारीले नैतिक जिम्मेवारी लिन नसकेको भन्दै उनले कडा आलोचना गरे । 

नियामक निकायका साथै सरकारी कमजोरी पनि अथाह छन् । काठमाडौँस्थित त्रिभुवन विमानस्थल साँघुरो छ र अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानको चाप सधैँ भइरहन्छ । घना वस्ती र शहरको बीचमा यस्तो साँघुरो एवं व्यस्त विमानस्थल हुनु जोखिमपूर्ण मानिन्छ । सौर्य र बंगला विमानझैँ फेरि कुनै विमान त्यहाँ रहेका अन्य विमान या ह्याङ्गरमा या नजिकै घर–बस्तीमा खसे भने के होला अवस्था ? कति ठूलो भौतिक एवं मानवीय क्षति होला ? तर पनि त्रिभुवन विमानस्थलको विकल्प सरकारले अझै खोज्न सकेको छैन । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्माण गरेको छ । तर ठूलो लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर पनि सञ्चालनमा ल्याउन सकेन । आन्तरिक उडानको चाप घटाउन समेत काठमाडौँकै साइडमा वैकल्पिक विमानस्थल बनाउनेसम्म सरकारले सोच्न सकेको छैन । 

यति मात्र हैन, बर्सेनी भइरहने दुर्घटनापिच्छे अध्ययन कार्यदल वा समिति बनाइन्छ तर तिनका सुझाव कार्यान्वयन गरिँदैन । अध्ययन प्रतिवेदन पनि समयमै नआउने र आएपछि पनि कार्यान्वयन नहुने, दुर्घटनाका कारण पत्ता लागिसकेपछि पनि त्यसबाट पाठ नसिक्ने प्रवृत्ति देखिएको छ । बारम्बार आँखैअघि विमान दुर्घटना भइरहँदा सरकारले शोकविदा दिएर वा झण्डा झुकाएर बस्न सुहाउँदैन, हवाई सुरक्षा नीतिमा फेरबदल गरी दुर्घटना न्युनीकरण र नियमनमा कडाइ गर्नुपर्छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update